प्रदेश नम्बर चारको स्थायी राजधानी तत्काल तोक्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । उनीहरुले पोखरा नै निर्विवाद राजधानी भएका कारण तोक्न ढिलाई गर्न नहुने बताएका हुन् ।
आज बोलाइएको बैठकमा प्रदेशको स्थायी राजधानी तोक्न सांसदले माग गर्ने बताएका छन् । यस्तै प्रदेशको नामाकरणमा भएको ढिलाईप्रति पनि सांसदहरुले रोष प्रकट गरेका छन् । आजको बैठकमा सरकारले केही महत्वपूर्ण विधेयकहरु पेश गर्ने तयारी गरेको छ । हिजो बसेको बैठकमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेश राजधानी सम्बन्धमा छलफल गरियोस् भन्दै गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति दिएको थियो ।
छलफलमा सहभागी हुँदै सदस्यहरुले भौगोलिक अवस्थिति, पूर्वाधार विकासका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिचित पोखरा निर्विकल्प राजधानी हुने बताए । भौतिक पूर्वाधार पर्याप्तता एवं प्रशासकीय कार्यालय पनि रहेकाले पोखराको विकल्प नहुने सांसदहरुको भनाई छ ।
नेकपाका सांसद मायानाथ अधिकारीले पोखरा प्रश्ताव नै एकल भएकोले यसलाई समर्थन गर्दा न्याय हुने बताए । ‘पोखरा हिजैदेखि सर्वस्विकार्य छ । विकासक्षेत्र देखि नै सदरमुकाम बनेको हो, उनले भने–संरचना पनि पर्याप्त छन् । सवै हिसावले यो भन्दा उत्तम विकल्प भेटिँदैन ।’
नेकपाका रामजी बराल पनि पोखरासँग सबैको पहिचान जोडिएकोले राजधानीका लागि अरु ठाउँ खोज्नुनपर्ने बताउँछन् । ‘पोखराले पूरै प्रदेशका ११ वटै जिल्ला समेट्छ । राजधानी पोखरा तोक्नु बस्तुनिष्ठ छ, उनी भन्छन्–तर पोखराको सुन्दरता जोगाउने चुनौति पनि सँगै थपिएको छ । यसतर्फ पनि सचेत हुनुपर्छ ।’
नेकपाका सांसद धनन्जय दवाडीले पोखरालाई कसारको डल्लाको संज्ञा दिए । ‘कसारको डल्लोमा गुदी कतिबेला आउँछ ?, प्रश्न गर्दै उनले अघि भने–पोखरा कसारको डल्लो जस्तै हो । कसारजस्तै जताततै गुदी छ पोखरामा ।’
काँग्रेसका विष्णप्रसाद लामिछानेले प्रदेश गठन हुँदैमा पोखरा स्थायी राजधानी बनिसकेको बताए । ‘मुलुक संघीयतामा गएपछि प्रदेश ४ ले निर्विवादित राजधानी पाईसकेको छ । भूगोल, संस्कृति, संरचना र ब्यापारिक केन्द्रका आधारमा पनि पोखरा उपयुक्त छ, उनले भने–सबै जिल्ला बासिले स्विकार गरेको ठाउँलाई हामीले समर्थन गर्नु आवश्यक छ ।’
नयाँ शक्तिका हरिशरण आचार्यले लामो समयसम्म छलफल भैसकेकोले सदनमा थप छलफल आवश्यक नपरेको बताए । ‘हिजोको केन्द्रिकृत शासन ब्यवस्था ढलाउनु छ । पोखरा पोखराभित्रै नहराओस्, उनले भने–भुगोल, ब्यापार, सुन्दरताले पनि पोखरा केन्द्रमा छ । त्यसैले प्रमोद खरेलको जस्तै मेरो दिल छ पोखरामा ।’
सांसद ललितकला गुरुङ, दीपक कोइराला, इन्द्रलाल सापकोटा, दीपक चर्तीमगर, सरिता गुरुङ, मीन प्रसाद गुरुङ, प्रभा कोइराला, मधुमाया अधिकारी, राजीव पहारी, पुष्पा केसी भण्डारी, कुमार खड्का लगायतले आफ्नो धारणा राखे ।
सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले ९३ प्रतिशतले पोखरालाई समर्थन गरेको तथ्याकं प्रश्तुत गरे । ‘सात सय एकाउन्नमध्ये सात सय पाँच जनाले पोखरालाई समर्थन गरेका छन्, उनले भने–यो समर्थनलाई सामान्य मान्नु हुँदैन । अव ग्रेटर पोखराको अवधारणा विकास गर्नुपर्छ ।’
यसअघि गत चैत १२ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम र स्थायी राजधानीको लागि ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले ७० दिनपछि प्रदेशको नाम र राजधानीबारे जेठ २१ गते प्रतिवेदन बुझाएको थियो। असार १० गते प्रदेशसभामा टेबुल भएको प्रतिवेदनमाथि असार १७ गतेदेखि छलफल सुरु भएको हो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’