क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।
विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको छ भने उपविजेता बनेको क्रोएशियाले २ करोड ८० लाख डलर पुरस्कार पाएको छ ।
क्रोएसियाको स्वर्ण पुस्ताको रुपमा हेरिएको यस टोलीले पहिलो पटक टिमलाई विश्वकप दिलाउन असफल रह्यो । फाइनलमा क्रोएशियाले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गरे पनि आत्मघाती गोलमार्फत फ्रान्सलाई अग्रता सुम्पियो ।

मस्कोस्थित लुज्निकी रंगशालामा खेल सुरु भएको १८औं मिनेटमा उपहार गोलमार्फत फ्रान्सले अग्रता लियो । डिबक्स बाहिरबाट एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बल क्लियर गर्न लाग्दा क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकिचले बललाई आफ्नै पोष्टको दिशा दिएका थिए ।
तर, १० मिनेट नवित्दै क्रोएसियाले गोल फर्कायो । डोमागोज भिडाको पासमा इभान पेरिसिचले डिबक्स लाइन नजिकैबाट उत्कृष्ट गोल गरेका थिए ।
३८औं फ्रान्सले विवादास्पद पेनाल्टी पायो । अर्जेन्टिनी रेफ्री निस्टोर पितानाले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा क्रोएशियाका इभान पेरिसिकले डिबक्सभित्र ह्याण्ड गरेको भन्दै पेनाल्टी दिएका थिए ।

फ्रान्सका एन्टोइन ग्रिजम्यानले गरेको कर्नर प्रहार क्लियर गर्न लाग्दा इभान पेरिसिचले दुर्घटनाबस ह्याण्ड गर्न पुगेका थिए । तर, रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी दिए जसलाई ग्रिजम्यानले सदुपयोग गर्दा फ्रान्सले पहिलो हाफमा २-१ गोलको अग्रता बनायो । ग्रिजम्यानले जारी प्रतियोगितामा चौथो गोल गरेका हुन् ।
दोस्रो हाफमा फ्रान्सले ६ मिनेटको अन्तरमा दुई गोल गरेर ४-१ को अग्रता बनायो । ५९औं मिनेटमा पाउल पोग्वाले करिव २० यार्डबाट क्रोएशियाली गोलरक्षक सुवेसिचलाई छक्याउँदै गोल गरेका थिए ।

६५औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा १९ वर्षे सुपरस्टार केलियन एम्बाप्पेले करिव २२ यार्डबाट शानदार गोल गरे । उनले पनि विश्वकपमा गोलसंख्या ४ बनाएका छन् ।
यो गोलसँगै एमबाप्पे विश्वकप फाइनलमा गोल गर्ने पेले पछिका एकमात्र किशोर खेलाडी बनेका छन् । सन् १९५८ को विश्वकप जित्ने क्रममा पेलेले फाइनलमा स्वीडेनबिरुद्ध २ गोल गरेका थिए ।
६९औं मिनेटमा इंग्लिस क्लव टोटनह्यामबाट व्यवसायिक फुटबल खेलिरहेका फ्रान्सेली कप्तान ह्युगो लोरिसले गम्भीर गल्ती गरेपछि क्रोएसियाका मारियो मान्जुकिचले गोल गरी अन्तर ४-२ मा झारेका थिए । गोलरक्षक लोरिसले बल समाउन छाडेर आफ्नै पोष्टमा खेलाउन थालेपछि पाएको अवसर माञ्जुकिचले सदुपयोग गरेका थिए ।
त्यसपछि खेलमा गोल हुन सकेन । र फ्रान्स दोस्रो पटक विश्वकप जित्न सफल भयो ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु