पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी) मा पहिलोपटक कम्प्युटरमा आधारित बिई/बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ ।
विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो ।
विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालिन डीन प्रा. डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको शुरुवात गरिएको थियो ।
पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले बताए । उनले आगामी दिनमा कम्प्यूटर ल्याबहरुको क्षमता बढाउँदै थोरै सिफ्टमा प्रवेश परीक्षा सम्पन्न गर्ने प्रतिबद्दता व्यक्त गरे ।
क्याम्पस प्रमुख बरालले भने– “पहिलो पटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा क्याम्पस प्रशासन अत्यन्त आभारी र खुशी छ । परीक्षा सञ्चालनमा सहभागी भइ सहयोग गर्नुहुने शिक्षक, कर्मचारी र आवेदन दिई पश्चिमाञ्चल क्याम्पसलाई आफ्नो परीक्षा केन्द्र बनाउने सबै विद्यार्थीहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।”
संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले प्रवेश परीक्षालाई आङ्गिक क्याम्पसहरुबाट पनि सञ्चालन गर्न बिकेन्द्रिकरणको नीति अपनाए संगै पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन भएको बताए ।
इन्जिनियरिङ अध्ययन संस्थानले यही कार्तिक १४ गते देखि दैनिक चार सिफ्टमा कम्प्यूटर प्रविधिमा आधारित बिई÷बिआर्क प्रवेश परीक्षा काटमाडौं केन्द्रमा सञ्चालन गरिरहेको छ ।
त्यसैगरी कात्तिक १६ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा समानान्तर रुपमा सञ्चालन भइरहेको हो । पश्चिमाञ्चल क्यान्पसको रिसर्च तथा इनोभेसन भवनको ३ वटा आधुनिक कम्प्यूटर ल्यावहरुमा पहिलो र दोस्रो दिनको पाँच सिफ्टको परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

यो परीक्षा कार्तिक १९ गेतसम्म जम्मा १२ सिफ्टमा सम्पन्न हुनेछ क्याम्पसले जनाएको छ । काठमाडौं केन्द्रमा प्रतिसिफ्टमा तीन सय ५० जनाले र पोखरा केन्द्रमा प्रति सिफ्टमा ६० जनाले कम्प्यूटरमा आधारित प्रवेश परीक्षामा सामेल भइरहेका छन्।
पूर्ण सुरक्षित वातावरणमा परीक्षा सञ्चालन भइरहेको र पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भइरहेको प्रवेश परीक्षाको पनि काठमाडौं केन्द्रबाटै प्राइभेट नेटवर्क र सिसिटिभी मार्फत प्रत्यक्ष अनुगमन भइरहेको बोर्डका अध्यक्ष तथा सहायक डिन प्राडा सुशीलबहादुर बज्राचार्यले बताए ।
उनका अनुसार पहिलो पटक प्रविधिलाई बिस्तार गरी सफलतापूर्वक परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षार्थीहरुले अनलाईनबाटै आवेदन दिएर प्रवेशपत्र डाउनलोड गरी भौतिक रुपमा ल्यावमा उपस्थित भई परीक्षा दिएका छन् । पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा सात सय १ जना परिक्षार्थीहरु प्रवेश परीक्षामा सामेल भइरहेका छन् ।
आवेदन दिएका परीक्षार्थीहरु मध्य इन्जिनियरिङ अध्ययन संस्थानका पाँच वटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त कलेजहरुमा दुई हजार ३ सय ४ जना गरी जम्मा चार हजार ३ सय ४४ जना बिद्यार्थीहरुले प्रति वर्ष इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन् ।
संस्थानले यस प्रवेश परीक्षा भाद्र २५ गतेदेखिनै सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो, तर उक्त सूचना सहित बिद्यार्थी भर्नाको शुल्क बृद्दिको पनि निर्णय सार्वजनिक गरेसंगै बिद्यार्थी नेतृत्वबाट बिरोध शुरु भएकाले प्रवेश परीक्षा सञ्चालन अवरुद्ध भएको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’