सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ ।
आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३-० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन सेट नै २५-२०, २५-२२ र २५-२२ अन्तरले आफ्नो पोल्टामा पार्याे ।
गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । उपाधि विजेता गलकोट नगरपालिकाले एक लाख ५१ हजार एक सय ११ रूपैयाँ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले एक लाख एक हजार एक सय ११ रूपैयाँ पाएको छ ।
आज नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासँग पराजित हुँदै बाहिरिएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३-१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।
प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रूपैयाँ र सान्त्वना पुरस्कार माउन्टेन भ्यूले २५ हजार एक सय ११ रूपैयाँ प्राप्त गरेको भलिबल खेल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।
सातौँ बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खुला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ । निर्माण व्यवसायी सङ्घ बागलुङ दोस्रो भएको छ । यही पुस ११ गतेदेखि सुरू भएको सातौँ बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । महोत्सवको शनिबार समापन गरिँदै छ ।
सम्बन्धित खबर
शिक्षकहरु लक्षित ह्याण्डबलको ५ दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न
जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग