पोखरा । पोखरामा मिटरमा जान नमान्ने ट्याक्सी प्रहरी कारबाहीमा परेका छन् । १३ ट्याक्सी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले ट्याक्सी मिटरमा जान नमानेको भन्ने गुनासो आएपछि शनिबार ट्राफिक प्रहरीले अनुगमन गरेकोमा १३ वटालाई नियन्त्रणमा लिएको बताए । ती ट्याक्सीहरू पोखराका मुख्य चोकचोकबाट नियन्त्रणमा लिइएको हो ।
गत १ भदौदेखि लागु हुने गरी तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीको पालामा ट्याक्सी मिटरमा चलाउनेबारे व्यवसायीबीच सहमति भई लागु भएको थियो । त्यसयता केही सुधार हुँदै आएको पाइन्छ । ८ महिनायता ट्राफिक कार्यालयले ५ सय ४ ट्याक्सीलाई मिटरमा जान नमानेको कसुरमा नियन्त्रणमा लिएको छ । जसबाट १४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
ट्याक्सी नियन्त्रणमा लिएपछि प्रहरीले थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्याक्सीमा मिटर नभएको वा ट्याक्सी मिटरमा जान नमानेको कसुरमा यातायात कार्यालयले २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवानासहित कारबाही गर्ने गरेको छ ।
ट्याक्सी मिटरमा जान नमाने १०३ मा फोन गरी गाडी नम्बर र लोकेसन टिपाए तत्काल कारबाही गर्न सकिने प्रहरी निरीक्षक शर्माले बताए । उनले भने, ‘कतिपयलाई ट्याक्सी मिटरमा जान नमाने १०३ मा फोन गर्नुपर्छ भन्ने जानकारी नै छैन । चढ्ने बेलामा म मिटरमा जान्छु भन्नुपर्छ जान नमाने तत्काल फोन गरेमा ठाउँको ठाउँ कारबाही गर्छौं ।’ उनका अनुसार कानुन कार्यान्वयनमा सर्वसाधारण आफैं सचेत हुनुपर्छ ।
चालक भन्छन्ः भाडा समायोजन गर्न पर्दैन ? अवैधानिक एप् रोक्नुपर्दैन ?
अधिकांश ट्याक्सी चालक स्वरोजगार छन् । अर्थात्, बैंकबाट लोन लिएर ट्याक्सी किन्छन्, आफै चलाउँछन्, कमाउँछन्, घर खर्च चलाउँछन् । यात्रु ठग्न नदिन प्रहरी र मन्त्रालयले राम्रै काम गरेको भएपनि पोखरा बजारको हकमा समस्यामा परेको ट्याक्सी चालकको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आफ्नो फेसबुक पेजमा ट्याक्सी कारबाही गरेको जानकारी पोष्ट गरेकोमा आएका प्रतिक्रियाहरुमा चालकले असन्तुष्टि जनाएका छन् ।
ट्याक्सी मजदुरहरुको एक स्वर छः ‘तेलको भाउ थोरै हुँदा भएको भाडा समायोजन स्वचालित तबरमा भएको छैन । तेलको भाउ बढेको छ । बजार सानो छ, यात्रु लिएर जाँदा फर्कँदा पाइन्न । रातो नम्बर प्लेटले अवैधानिक तबरले बोक्दा कारबाही हुँदैन । अवैधानिक एप चलाउनेमाथि कारबाही हुँदैन ।’
अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश सचिव अर्जुन पौडेलले लेखेका छन् – ‘श्रमिकको पहिलो प्राथमिकता भाडा समायोजन हो। त्यसपछि कानुन कार्यान्वयन’


सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)