पोखराका मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठ, मन्दिर पर्छन् । हालै पर्यटनको राजधानी बनेको पोखरालाई प्रवर्धन गर्न विभिन्न योजना बनाइँदै छ ।
पोखरामा पाहुनाका पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा पर्छः अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको संग्रहालयमा पछिल्लो आर्थिक वर्षमा सार्क राष्ट्रबाहेक ९८ देशका पर्यटक आएका छन् ।
सार्कका नेपालबाहेक अरु ७ देशका जोड्दा यहाँ आउने पर्यटकको संख्या १ सय ५ पुग्छ । संग्रहालयमा सार्क, विदेशी र नेपालीको मात्र फरक फरक तथ्यांक राख्ने गरिएको थियो । गएको कात्तिकदेखि विदेशीको राष्ट्रियता अनुसारको तथ्याङ्क राख्न थालिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म सार्क देशका १५ हजार ७ सय ७२ जनाले संग्रहालय अवलोकन गर्दा ४१ लाख ३५ हजार ३ सय ४८ रुपैयाँ आम्दानी भएको छ । यो ९ महिनामा आएका १८ हजार १ सय ९० जना विदेशीले संग्रहालयलाई ९५ लाख २९ हजार आठ सय २८ रुपैयाँ प्रवेश शुल्क तिरेका छन् ।
संग्रहालयका भावी योजना निर्माण र पर्यटकको संख्या बढाउन राष्ट्रियता अनुसारको तथ्यांकले सहयोग गर्ने कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेको तर्क छ । ‘यो संग्रहालय दुई दशकदेखि पर्वतीय गतिविधि, संस्कृति र जलवायु परिवर्तन बुझाउने अध्ययन केन्द्र बनेको छ । यस्तो तथ्यांले हामीलाई भावी योजना, थप निर्माण र रणनीति तय गर्न पनि सघाउने अपेक्षा गरेका छौं,’ उनी भन्छिन् ।
संग्रहालय नाफा आर्जनका लागि नभई ज्ञान बाड्न केन्द्रीत भएको सुनाउँदै उनले महिनामा कमसेकम २० लाख खर्च हुने उल्लेख गरिन् । पर्यटकीय नगर पोखराको एउटा आकर्षणका रुपमा स्थापित संग्रहालयलाई स्थानीय सरकार र प्रदेश सरकारले पनि सघाउनुपर्ने उनको भनाइ छ ।
यहाँ आउनेमा सबैभन्दा बढी जापानी देखिएका छन् । कात्तिकदेखि चैतसम्म १ हजार ७ सय ६४ जना जापानी पर्यटक आएका छन् । सो अवधिमा १ हजार ७६ जना फ्रान्सेली, ७ सय ९३ जना चिनिया, ७ सय ६४ जना अमेरिकी, ५ सय ६५ जना बेलायती र ८ सय १६ दक्षिण कोरियाका नागरिकले संग्रहालय हेरेका छन् । अघिल्लो वर्ष दुई करोड ९१ लाख १३ हजार सात सय आम्दानी गरेको संग्रहालयले चालु आर्थिक वर्षमा २ करोड ९ लाख ९४ हजार ४ सय ९१ रुपैयाँ संकलन गरेको छ ।
संग्रहालयको अगाडिको सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा यहाँ आउने पर्यटकहरु सास्ती व्यहोर्न बाध्य छन् । पोखरा १७ रातोपैह्राको करिब १ सय रोपनीमा रहेको यो संग्रहालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने आवाज पनि बेला बेलामा उठिरहन्छ । यसो गर्न नेपाल पर्वतारोहण संघको मात्र बुताले मात्र नपुग्ने जनाउँछन् संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे ।
‘यसलाई अनुसन्धान केन्द्र बनाएर अझ धेरै पर्यटन र अनुसन्धातालाई आकर्षण गर्न सकिन्छ,’ पाण्डे भन्छन्, ‘यसका लागि राज्यले लगानी र बजारीकरण गरिदिनुपर्छ ।’ संघीय पर्यटन मन्त्रालयको सहयोगमा संग्रहालयको छाना फेर्न यसपालि बजेट विनियोजन भएको छ । ठाउँ ठाउँमा पानी चुहिएपछि करिब एक करोडमा छाना फेर्ने तयारी भएको हो । रासस
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो