कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा निर्माणाधीन बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटबाट बसपार्क बन्न लागेको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
गत आर्थिक वर्षमा गाउँपालिकाको २५ लाख बजेटबाट बसपार्कको काम सुरु गरिएकामा चालु आवमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । ‘सिक्लेसमा पार्किङको समस्या थियो, ढलानसहितको व्यवस्थित बसपार्क बनेपछि अब स्थानीय र पर्यटकलाई लाभ पुग्नेछ’, उनले भने, ‘पोखरा जोड्ने सडक पनि स्तरोन्नति भएपछि सिक्लेसको यात्रा सहज बनेको छ ।’
निर्माणको जिम्मा पाएको लिएको पावर टेक इन्जिनियरिङका सञ्चालक हिमाल गुरुङले आगामी असारभित्रमा बसपार्कको काम सकिने बताए । ‘ढलान र पर्खालको काम सकिएको छ, केही ठाउँमा ग्याबिन जाली, बसपार्क जोड्ने सडक ढलानको काम बाँकी छ’, उनी भन्छन् । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत सिक्लेसमा सडक स्तरोन्नति, नाली निर्माण लगायतका काम भइरहेका छन् ।
सडक पुगेको २ दशकपछि सिक्लेसमा व्यवस्थित बसपार्क निर्माण गरिएको हो । गाउँपालिकामार्फत बसपार्कलाई चाहिने अन्य पूर्वाधारका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष गुरुङले बताए । ‘टिकटघर, यात्रु विश्रामस्थल, शौचालय लगायत संरचनाका लागि थप बजेटको आवश्यकता छ’, अध्यक्ष गुरुङ भने, ‘अहिले कम्तीमा बसपार्क ढलानसम्म भएको छ, यसले पनि पार्किङमा धेरै सहजता थपेको छ ।’
सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य भएकाले पछिल्लो समय त्यहाँ पर्यटकीय गतिविधि बढ्न थालेका छन् । पर्यटकसँगै स्थानीयवासीको सुविधाका लागि सडक लगायतका पूर्वाधार विकासका काममा प्रदेश सरकार र गाउँपालिकाले लगानी बढाएका छन् ।
प्रदेश सरकारको बजेटबाट पोखराको काहुँखोलाबाट सिक्लेस जोड्ने सडक कालोपत्रको काम पनि तीव्र रूपमा भइरहेको छ । काहुँखोलाबाट मादी ७ थाकसम्मको १० किमी सडक कालोपत्र भइसकेको छ । थाकबाट मादी ६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागिएको छ ।
‘अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिका अनुसार नै काम गरिरहेको छ’, सुवेदीले भने । चिप्लीबाट सिक्लेससम्मको बाँकी खण्ड कालोपत्रका लागि आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको संगमस्थल दुधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी ४ वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायतका गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने उल्लेख गरे ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो