पोखरा महानगरपालिकाले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मूल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाद्यय सामग्री बिक्री वितरण भइरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो ।
महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्व टोलीले पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २ सय १९ केजी माछा र खसीको मासु १५ केजी गरी २ सय ३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पिटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ ।
१७ वटा मध्ये १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लालचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै पोखरा ८ सिर्जनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान योग्य नभएको ८ केजी माछा र खसीको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको छ । ती दुवै पसललाई ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा सञ्चालनमा रहेको न्यु रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनमा पसल नवीकरण नभएको, सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल सञ्चालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।
माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मूल्यसूची राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुझाव दिँदै पुन दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।
पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुगमन गरिने उनले बताइन् ।
उपप्रमुख गुुरुङले अनुगमनका क्रममा दिइएको सुुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुनी कारबाही गरीने बताइन् । उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् ।
चाडपर्वमा मात्रै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडिनै अनुगमन थालिएको उपप्रमुख गुरुङको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखिएको, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस