मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।
विसं २०७९ बैशाखमा ठेक्का सम्झौता गरेको बीएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए । “गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा रु २० करोड लगानी भएको छ,” उनले भने “पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ ।”
अस्ट्रेलिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषद्मार्फत गुम्बासहितका पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग उपलब्ध गराएको हो ।
दोस्रो चरणमा गुम्बा परिसरमा रु १८ करोडको लागतमा अस्पताल, बहुउद्देश्यीय सभाहल र अतिथिगृहको भवन निर्माण सुरु भएको छ । तेस्रो चरणमा लामा विद्यालय भवन निर्माणका लागि डिजाइन तयार भएको इन्जिनियर थकालीले बताए । सो विद्यालयमा एक/एक सय जना लामा विद्यार्थी र भिक्षुहरूलाई आवासीय सुविधा दिने केन्द्रले जनाएको छ ।
तिब्बतमा बुद्ध धर्मको प्रचार हुनुअघि नै बोन धर्मको स्थापना भएको र मुस्ताङमा पनि सोही धर्मको प्रभाव रहेको मानिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले यो गुम्बाले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको बताए । जोमसोम–कागबेनी सडकको एक्लेभट्टी नजिकै गुम्बा रहेको छ ।
पाक्लिङको छिमेकी गाउँ लुप्राका बासिन्दाहरूले अझै बोन धर्म मान्दै आएका छन् । १४ घरधुरी रहेको लुप्रा गाउँका सबैले बोन धर्म मान्छन् । थासाङको नाउरिकोट र मुक्तिनाथ नजिकैको झारकोटमा पनि बोन धर्म मान्ने दुई/चार घरधुुरी रहेको लुप्रामा रहेको योङफुङ फेनलेलिङ गुम्बाका लामा योङडोङ फेनछोक गुरुङले बताए । उनका अनुसार बोन धर्म बुद्ध धर्मअन्तर्गतकै हो । मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले मुस्ताङ बोन फाउन्डेसनको सहयोगमा मुस्ताङका ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कक्षा १ देखि स्नातक तहसम्म छात्रावृत्तिमा पठनपाठनको व्यवस्था मिलाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह