पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ ।
गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सञ्चालन भएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो ।
कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए ।
सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा एक महिनाभन्दा बढी समय लगाएर सडक मर्मत भएको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले बताए । ‘घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जान्छ । लामो समयदेखिको अवरोध हटेको छ,’ उनले भने ।
नेकपा एमालेका सांसद प्रकाशबहादुर केसी गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेपछि तत्काल काम गरिनुपर्ने र भइराखेका सडकबारे चासो राखेका थिए । त्यसपछि उनले पर्यटकीय गाउँ भएकाले घान्द्रुक जाने बाटो मर्मतको काममा ढिलाइ नगर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए ।
मन्त्री केसीले घान्द्रुक जाने सडक लामो समयपछि खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यालय कास्कीको टोलीसँगको भेटमा मंगलबार कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिलाई बाटो खुलाएकोमा धन्यवाद दिए । मन्त्री केसीले आफूले समस्यामा रहेका अन्य सडकखण्डको पनि पहिचान गरिरहेको र पहिचानपछि समस्या समाधान गर्ने उपाय खोज्ने बताए ।
चाडपर्वको समयमा आवागमनमा समस्या नहोस् भनेर आफूले चासो दिएको मन्त्री केसीले सुनाए । ‘चाडपर्वको समयमा बाटो अवरुद्ध हुँदा अप्ठेरो हुन्छ । मैले मातहतका कार्यालयलाई पनि पहिरो गइहालेमा क्षेत्राधिकार हेरेर, समन्यव गरेर पन्छाउने काम गर्न तयार रहन भनेको छु,’ उनले भने ।
पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकोमा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका युवा व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकोमा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।
‘घान्द्रुक गाउँ नजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपथ्र्यो,’ उनले सुनाए, ‘घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।’
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’