पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ ।
गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सञ्चालन भएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो ।
कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए ।
सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा एक महिनाभन्दा बढी समय लगाएर सडक मर्मत भएको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले बताए । ‘घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जान्छ । लामो समयदेखिको अवरोध हटेको छ,’ उनले भने ।
नेकपा एमालेका सांसद प्रकाशबहादुर केसी गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेपछि तत्काल काम गरिनुपर्ने र भइराखेका सडकबारे चासो राखेका थिए । त्यसपछि उनले पर्यटकीय गाउँ भएकाले घान्द्रुक जाने बाटो मर्मतको काममा ढिलाइ नगर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए ।
मन्त्री केसीले घान्द्रुक जाने सडक लामो समयपछि खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यालय कास्कीको टोलीसँगको भेटमा मंगलबार कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिलाई बाटो खुलाएकोमा धन्यवाद दिए । मन्त्री केसीले आफूले समस्यामा रहेका अन्य सडकखण्डको पनि पहिचान गरिरहेको र पहिचानपछि समस्या समाधान गर्ने उपाय खोज्ने बताए ।
चाडपर्वको समयमा आवागमनमा समस्या नहोस् भनेर आफूले चासो दिएको मन्त्री केसीले सुनाए । ‘चाडपर्वको समयमा बाटो अवरुद्ध हुँदा अप्ठेरो हुन्छ । मैले मातहतका कार्यालयलाई पनि पहिरो गइहालेमा क्षेत्राधिकार हेरेर, समन्यव गरेर पन्छाउने काम गर्न तयार रहन भनेको छु,’ उनले भने ।
पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकोमा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका युवा व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकोमा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।
‘घान्द्रुक गाउँ नजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपथ्र्यो,’ उनले सुनाए, ‘घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।’
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती