परिवार सबै गुमाएकी अर्धचेत् सपना; ‘घर किन्छु भन्दा घरबार नै दैवले चुँड्यो’

परिवार सबै गुमाएकी अर्धचेत् सपना; ‘घर किन्छु भन्दा घरबार नै दैवले चुँड्यो’

sapana

पौडेर बाँच्न सफल सपनालाई सम्हाल्दै आफन्त । उनले २ छोरा र पति गुमाईन् ।

पोखरा । बेगनासतालमा शनिबार गैंडाकोटबाट परिवारसहित ससुराली आएका रवी खनालले चलाएको डुंगा दुर्घटना भयो । त्यस डुंगामा १० जना सवारमध्ये उनकी श्रीमती सपना र निशा पौडेल मात्र बाँचे । अरु ८ जनाको ज्यान बचेन ।

नवलपरासी गैंडाकोटकी सपना खनाल, श्रीमान रवि र छोराहरु शिव, शंकरका साथ पोखरा आईन् । नेपाल आर्मीमा जागिरे रवीको भर्खैरै बढुवा भएको थियो । बढुवा भएको खुसीयालीमा पोखरा घुमघाम गर्ने, आफन्तसँग भेट्ने र पोखरातिरै घर किन्ने भनेर खनाल परिवार पोखरा आएको थियो । तर घर माइततिरै घर किन्ने सपना बोकेर आएकी सपना सबै परिवार नै गुमाएर बेघरबार बनिन् ।

शनिबार दिउँसो मोहोरियास्थित एक घरमा रुवावासी चलिरहेको थियो । दुर्घटनापछि पौडी खेलेर तालबाट निस्केकी सपना खनाल आफन्तलाई अंगालो हाल्दै रोइरहेकी थिइन् । भक्कानिँदै उनले भन्थिन् ‘मैले नजाउँ त भनेकै थिएँ, मेरो बाबा मलाई छोडेर जानु रै्छ र जिद्धि गर्नुभयो ।’

सपनाका अनुसार, यसअघि रवीले कहिल्यै पनि डुंगा चलाएका थिएनन् । ससुराली जाँदा बेगनासतालमा एकपटक आँफैले डुंगा चलाएर ताल घुम्ने रहर सुनाएका थिए रवीले ।

रवीकै जोडबलमा, डुंगा आफैले लिएर जाने योजना भयो । आफूसहति ९ जना भएपछि उनले डुंगा अगाडि बढाएका थिए । पाहुनालाई एक्लै डुंगामा छोड्न नसकेर कमल अर्को डुंगा लिएर पछि लागेका थिए । सपना कमलकी साढुकी छोरी हुन् । पोखरामै घर किन्ने भनेर रवीले २ दिन पहिला गैंडाकोटको घर बेचेका थिए । घर बेचेर लिएको चेक पनि रवीकै खल्तीमा थियो । ‘घर किन्छु भन्दा मेरै घरबार नै दैवले चुँड्यो,’ अर्धचेत अवस्थामा सपनाले भक्कानिँदै भन्थिन् ।

लिब्दी किनार आउन सय मिटरजति बाँकी थियो । अब त पार हुन लागियो भनेर सपनाले ढुक्कको सास फेरेकी थिइन् । त्यतिबेलासम्म डुंगाको पिँधमा पानी भरिएको थियो । पानी पसेपछि केटाकेटी चल्न थाले । ठाउँ छाडेर उनीहरु उठे ।

पानीले पिँध भरिएको देखेपछि रवी पनि आत्तिए । खियाउन छाडेर बच्चाबच्ची सम्हालन पुगे । यत्तिकैमा डुंगा कोल्टिहाल्यो । पानीले डुंगामा भरियो । सपनाले छोराहरु शंकर र शिवलाई दुबै हातले च्यापिन् । उद्धार गर्ने कोहि नहुँदा छोराहरु गुमाउनुपरेको सपनाले रुँदै बताईन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के,’ सपना बोल्न सकिनन् ।

जसोतसो पौडी खेलेर उत्रने कोसिस गर्दा अनिता हिमाली, दिलकुमारी जलारी लगायतका किशोरीले उनको गुहार सुनिन् । बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ ।

डुंगा चलाएको अनुभव नभएका ज्वाइँले डुंगा चलाउने रहर गरेपछि कमलराज कँडेल उनीहरुको पछि पछि अर्को डुंगा लिएर पुगेका थिए । तर केही पर पुगेपछि डुंगा पल्टेको देख्नेबित्तिक कमल आफूले चलाएको डुंगामै बेहोस भएका थिए ।

यो पनि पढ्नुहोस् (क्लिक गर्नुहोस्)

रेजिनाको बिलौना, मामाघर गएका आमा र भाइ बेगनास तालमै गुमाईन्

[अपडेट] यसरी भयो बेगनासमा डुंगा दुर्घटना

स्थानीयले कमल कँडेल (गणेश), कृष्णकुमारी बजगाईं, जमुना कँडेल गैह्रै र निशा पौडेललाई उद्दार गरी अस्पताल पु¥याएका थिए । जमुनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नपुग्दै र बजगाईंको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा मृत्यु भएको हो । कमल र निशाको लेखनाथमै उपचार गरिएको छ ।

५ जना मात्र चढ्नुपर्ने डुंगामा सानाठूला गरी १० जना थिए । उनीहरु बेगनास गाउँका कमल र शोभा कँडेलको घरमा गरिएको दर खाने कार्यक्रममा आएका थिए । केहीबेर डुंगामा सयर गर्नेक्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा पोखरा–२८, कालिकाकी कृष्णकुमारी बजगाईं र तनहुँ, भिमाद ५ की जमुना कँडेल गैह्रै सहित गैंडाकोट–४ का सपनाका पति ३२ वर्षीय रवि खनाल र २ छोराहरु ८ वर्षीय शिव र ७ वर्षीय शंकर, पोखरा कालिका घर भई बागलुङ बसपार्क बस्ने १८ वर्षीया मनिषा बजगाईं, जमुनाका छोरा ५ वर्षीय रंजित गैह्रे र निशाका छोरा ५ वर्षीय प्राचीन पौडेलको मृत्यु भयो । ६ जनाको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

यसअघि, ६ वर्ष पहिला बेगनासतालमा परिवारसहितको डुंंगा डुबेको थियो । डुंगामा यात्रारतमध्ये लाइफ ज्याकेट लगाएका बाँच्न सफल भए । ज्याकेट नलगाएका ५ जनाको डुबेर मृत्यु भयो । त्यसपछि जिल्ला प्रशासन कास्कीले बेगनास र फेवामा लाइफ ज्याकेट अनिवार्य र्गयो । व्यावसायिक डुंगामा त यो नियम लागु भयो । तर घरायसी प्रयोगका डुंगालावालाले यो नियमलाई बेवास्ता गर्दै आए ।

शनिबार बेगनासतालमा यस्तै घटना भयो । चुहिने डुंगा, सिकारु चालक र बिना लाइफ ज्याकेटको यात्राका कारण यस्तो दुःखद घटना भयो । पोखरा ३१ बेगनासको लिब्दीदेखी सय मिटर पर डुंगा दुर्घटना भएको थियो ।

  • लेखनाथ पत्रकार स्मिता अधिकारीको सहयोगमा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds