पोखरा । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ ।
गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारणसभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे ।
लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो कृति पनि ‘थुँगा थुँगा जिन्दगानी’ नामक गीत सङ्ग्रह प्रकाशन गरी सुरु गरेकी सरूको त्यसपछि ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ गरी दुई कविता सङ्ग्रह र ‘किट्टी’ नामक बालकथा सङ्ग्रह प्रकाशित छन् ।
आफू लमजुङ हुँदै साहित्यिक लेखन सुरुवात गरे पनि पोखराले आफूलाई विशेष पहिचान दिएको सरूले बताइन् । गीतका क्षेत्रमा आफू लामो समयदेखि लागे पनि रेकर्ड भएका गीतको सङ्ख्या कम भएको बताउँदै उनले गीत लेखन आफ्नो मुख्य जिम्मेवारी भएको बताइन् । सम्मानले आफूलाई गीति क्षेत्रमा केही गर्नका लागि थप हौसला दिएको भन्दै गीतकारहरूको हकहितका लागि पोखराका अग्रज गीतकारहरूले देखेको सपना गीतकार प्रतिष्ठानले पूरा गरेको सरूको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार रमेश श्रेष्ठले गीतकारको पहिचानका लागि सबै लागिपर्नुपर्नेमा जोड दिए । उनले सरस्वती जस्तो एक योग्य प्रतिभालाई सम्मान गरेर गीतकार प्रतिष्ठान स्वयम् सम्मानित भएको धारणा राखे ।
लोकगायिका हरिदेवी कोइरालाले सरूको लेखनमा भएको सरलता र व्यवहारमा भएको हार्दिकताबाट आफू प्रभावित भएको बताइन् । उनले सरूको लेखनले पोखरेली साहित्यिक क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान गरेको धारणा राखिन् ।
प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका सदस्य भुवन क्षेत्रीले गीतकार सरूको परिचय दिएका थिए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, गायक विनोद बानियालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
२०७७ सालमा दर्ता भई सञ्चालित प्रतिष्ठानले यसअघि प्रकट पगेनी ‘शिव’ र शीतल कादम्बिनीलाई गीतकार सम्मान प्रदान गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए । निवर्तमान अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकारद्वय भुवन क्षेत्री र विक्रम पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा सरूलाई सम्मान प्रदान गरिएको उपाध्यक्ष अधिकारीले जनाए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो