सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राखेका छन् । भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ ।
तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउँछन् । ‘अहिले फुलको मुल्य पनि राम्रै छ, तिहारमा मात्रै रु पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु’ उनी भन्छन् ।
२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन् ।
वार्षिक आम्दानी रु आठ लाखसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ,’ समीरको भनाइ छ ।
उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष रु सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष रु दश लाख आम्दानीमा आशावादी छन् । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु,’ उनले भने ।
समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भएपनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।
उनी भन्छन्,’हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।’
भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ । रासस
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने