पोखरा । छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।
आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान