पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् ।
शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए । त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो ?
निमित्त प्रमुख गौतमले आफूहरुकै निगरानीमा फाइल हेरिने गरेको जवाफ दिए । त्यसपछि मन्त्री केसीले प्रश्न गरे – कर्मचारीले सबै निगरानी गरेर भ्याउनुहुन्छ ? कार्यालय प्रमुख गौतमले सीसी क्यामेराबाट पनि निगरानी गर्ने गरेको दाबी गरे । त्यसपछि मन्त्री केसीले त्यसरी पहुँच दिँदा कुनै कमजोरी भए जिम्मा कसले लिने भनेर निमित्त प्रमुख गौतमलाई प्रश्न गरे । निमित्त प्रमुख गौतमले अबदेखि बाहिरी व्यक्तिलाई फाइल र ढड्डामा पहुँच नदिने बताए ।
मन्त्री केसीले सेवा प्रवाहमा टोकन सिस्टम लागु भए/नभएको विषयमा चासो राखे । टोकन सिस्टम लागु नभएको जानकारी पाएपछि मन्त्री केसीले टोकन सिस्टम तत्काल लागु गर्न निर्देशन दिए । ‘काठमा नम्बर खोपेर हुन्छ कि पेपरमा नम्बर लेखेर, कार्यालयको छाप हानेर हुन्छ तत्काल सुरु गर्नू,’ मन्त्री केसीले भने । निमित्त प्रमुख गौतमले आइतबारदेखि टोकन सिस्टम लागु गर्ने जवाफ दिए ।
निमित्त प्रमुख गौतमले सडक एकतर्फी भएको हुँदा पार्किङ र आवतजावतमा समस्या भइरहेको मन्त्री केसीलाई जानकारी गराए । कार्यालय छेउमा रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने विकल्प उनले देखाए । निमित्त प्रमुख गौतमले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म ४३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी मन्त्री केसीलाई गराए ।
मन्त्री केसीले शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रको पनि निरीक्षण गरे । उनले कार्यालय प्रमुख मिलन केसीसँग कार्यालयको सेवा प्रवाह र समस्याबारे ब्रिफिङ लिए ।
ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख केसीलाई निर्देशन दिए । सेवा प्रवाहमा कुनै अनियमित गतिविधि भएको थाहा पाएमा कारबाही गर्ने चेतावनी दिए ।
उनले दुवै कार्यालय प्रमुखलाई कार्यालयले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिए । मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, यातायात महाशाखा प्रमुख अनिल सुवेदीलगायत पनि कार्यालय निरीक्षणमा पुगेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ