प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

प्रचण्ड कप: महिला भलिबल

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

गण्डकी, न्यु डायमण्ड र एभरेस्टलगायत तीन विभागीय टोलीहरुको सहभागिता रहने

Prachanda Cup Women Volleyball

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८२’ पोखरामा हुने भएको छ ।

यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज कभर्डहलमा हुने प्रतियोगिताको सह-आयोजना अखिल नेपाल खेलकुद महासंघको रहनेछ । उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका छ वटा प्रमुख टीम/क्लबको सहभागिता रहनेछ ।

नेपालका तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टीम/क्लबले एक लाख रुपैयाँ प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही बीस हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

‘भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यसै खेलको प्रतियोगिता आयोजना गरि खेलाडीहरुको क्षमता पहिचान र प्रवर्द्धनमा एक कोसेढुङ्गा बनाउने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘तत्कालीन प्रचण्ड सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि भलिबलको विकास र व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं ।’

नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवल खेलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कोइरालाले बताए । आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने उनले उल्लेख गरे ।

त्यस्तै, प्रतियोगिताको सह-आयोजना रहेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारी गरिरहेको सुनाए ।

प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास कास्कीको विशेष सहयोग रहने बताइएको छ । एकेडेमीले पोखरामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ