पोखरा । गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ ।
गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा यी दुवै भाषा सरकारी कामकाजमा थपिएका हुन् ।
यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाका रुपमा रहेको थियो ।
गण्डकी प्रदेश मगर र गुरुङ बाहुल्य प्रदेश हो । यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जाति छन् । सोहि जनसंख्याका मानिसहरुलाई कामकाजमा सहज बनाउने, उनीहरुले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्दन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विधेयक ल्याएको थियो । सो विधेयकलाई बिहीबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले निर्णायार्थ पेश गरेपछि सर्वसम्मत पारित भएको हो ।
यसअघि विधायन समितिमा लामो छलफल हुनुका साथै सरोकारवालाहरुसँग गरिएको परामर्शपछि प्रदेश सभाको मंगलबार बसेको बैठकमा विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा ८ जना सांसदहरुले विधेयकका विभिन्न प्रावधानमाथि आ–आफ्नो बिचार राखेको थिए । त्यसपश्चात मन्त्री थापाले जवाफ दिएपछि निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले पारित भएको हो ।
मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशभर सरकारी कामकाजको भाषा बनाउने विधेयकलाई अब गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणित गरेपछि कानूनको रुप लिनेछ । त्यसपछि भने गण्डकी प्रदेशभरका सरकारी कार्यालयहरु, मन्त्रालय, आयोग, निर्देशनालय वा अन्य संगठित संस्थामा नेपालीसँगै मगर र गुरुङ भाषालाई कामकाजी बनाईनुपर्नेछ । त्यतिमात्र होईन, ती ककार्यालयहरुमा रहने सार्वजनिक दस्तावेजहरु समेत मगर र गुरुङ भाषामा अनुवाद गरी अभिलेखिकरण गर्नुपर्नेछ । त्यस्तै, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात लगायत पेश गरेमा कार्यसम्पन्न भएपछि उनीहरुले पाउने कागजातहरु त्यहि भाषामा उपलब्ध गराउन सक्नेछ ।
यसरी मातृ भाषामा कागजात पेश गर्दा वा लिएको आधारमा कुनैपनि नागरिकलाई विभेद, बहिष्करण र अपमानजन्य व्यवहार गर्नु नहुने भनिएको छ । बरु सरकारी कामकाजको भाषाको संरक्षण प्रवद्र्धनका लागि प्रदेश सरकार र कार्यालयले सरोकारवालासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएको छ । बिधेयकले कार्यालयले मगर र गुरुङ भाषामा नागरिक वडापत्र वा सूचना पाटी राख्नुपर्ने भनेको छ भने ती भाषामा उच्च शिक्षा अध्ययनका लागि व्यवस्था पनि गर्नसक्ने भनेको छ ।
विधेयकमाथिको छलफलमा कांग्रेसका सरस्वती गुरुङ, एमालेका गणेशमान गुरुङ, नेकपा माओवादी केन्द्रकी कुसुम बुढा मगर, माओवादीकै हरिबहादुर भण्डारी, एमालेका सुधिरकुमार पौडेल, निर्मला थापा, कांग्रेसका महेश भट्टराई र राप्रपाकी बिन्दु पौडेलले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारित भएको दिन ऐतिहासिक दिन भएको बताए । तर यो प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड थियो ।
विधेयक माथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नेपालको संविधानको भावना र भाषा आयोगको सिफारिस अनुसार गण्डकी सरकारले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेर विधेयक बनाएको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए