काठमाडौँ — नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।
यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ९ हार बेहोरेको थियो ।
नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ । अमिर जाङ्गो, अकिम अगुस्टे, नवीन बिदाइसी र रेमोन सिमोन्ड्सलाई ‘डेब्यु’ गर्न दिएको वेस्टइन्डिजबाट अनुभवी जेसन होल्डर लगायत खेलेका थिए ।
कुशल भूर्तेलले ओपनर केयल मायर्सलाई दोस्रो ओभरमा ५ रनमा सिधा स्टम्पमा हानेर रन आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । जाङ्गो २२ बल खेली २ चौकासहित १९ रन बनाएर आउट भए । अगस्टीलाई नन्दन यादवले १५ रनमा आउट गरे । ७ बल खेलेका अगस्टीले २ छक्का प्रहार गरेका थिए ।
जेवेल एन्ड्रयु ५ रनमात्र बनाई कप्तान रोहित पौडेलको सिकार भए । केसी कार्टीले १५ बल खेली समान १ चौका र छक्कासहित १६ रन बनाई दीपेन्द्रसिंह ऐरीको थ्रोमा रन आउट भए । बिदाइसीले वस्टइन्डिजबाट सर्वाधिक २२ रन बनाए । २५ बल खेलेर समान १ चौका र छक्का प्रहार गरेका उनी भूर्तेलको बलमा हिट विकेट भएका थिए ।
भूर्तेलले होल्डरलाई ५ रनमा आउट गरेपछि नेपाल जितको नजिक पुगेको थियो । तर तल्लो क्रममा कप्तान अकेल हुसैनले आक्रामक खेल्दै वेस्टइन्डिजलाई जितको सम्भावना देखाएका थिए । उनले ९ बल खेली १ चौका र २ छक्का प्रहार गर्दै १८ रन बनाएपछि करण केसीको बलमा आउट भए ।
फाबिएन एलेन आउट हुने अन्तिम खेलाडी थिए । ऐरीको बलिङमा बाउन्ड्री लाइनमा कुशल भूर्तेलले सानदार क्याच लिएर एलेनलाई आउट गरेका थिए । उनले १४ बल खेली ३ चौका प्रहार गर्दै १९ रन बनाए । भूर्तेल बलिङमा पनि छाए । उनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र, करण, नन्दन, ललित राजवंशी, रोहित पौडेलले १–१ विकेट लिए । तर कुनै विकेट नलिएका सोमपाल कामीले ४ ओभरमा ४३ रन खर्चन पुगे ।
यसअघि ओपनरद्वय कुशल भूर्तेललाई ६ र आसिफ शेखलाई ३ रनमा गुमाए पनि टेस्ट मान्यता प्राप्त राष्ट्रसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले राम्रो स्कोर बनाएको थियो । रोहितले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । मल्लले २१ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० रन बनाए ।
गुलशन झाले पनि २ छक्का प्रहार गर्दै १६ बलमा २२ रन बनाए । दीपेन्द्रले १९ बलमा १७ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमै आउट भए । करण पहिलो बलमै आउट भए । सोमपाल ५ बलमा ६ र नन्दन २ बल खेली ७ रनमा अविजित रहे ।
वेस्टइन्डिजबाट होल्डरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २० रनमात्र खर्चेका थिए । बिदाइसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ओपनिङ बल लिएर आएका कप्तान एवं देव्रेहाते स्पिनर अकेल हुसैनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी