टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

खेलकुद

टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

दुईपटकको विश्व विजेता वेस्ट इन्डिज १९ रनले पराजित

nepal cricket

काठमाडौँ — नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ९ हार बेहोरेको थियो ।

नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ । अमिर जाङ्गो, अकिम अगुस्टे, नवीन बिदाइसी र रेमोन सिमोन्ड्सलाई ‘डेब्यु’ गर्न दिएको वेस्टइन्डिजबाट अनुभवी जेसन होल्डर लगायत खेलेका थिए ।

कुशल भूर्तेलले ओपनर केयल मायर्सलाई दोस्रो ओभरमा ५ रनमा सिधा स्टम्पमा हानेर रन आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । जाङ्गो २२ बल खेली २ चौकासहित १९ रन बनाएर आउट भए । अगस्टीलाई नन्दन यादवले १५ रनमा आउट गरे । ७ बल खेलेका अगस्टीले २ छक्का प्रहार गरेका थिए ।

जेवेल एन्ड्रयु ५ रनमात्र बनाई कप्तान रोहित पौडेलको सिकार भए । केसी कार्टीले १५ बल खेली समान १ चौका र छक्कासहित १६ रन बनाई दीपेन्द्रसिंह ऐरीको थ्रोमा रन आउट भए । बिदाइसीले वस्टइन्डिजबाट सर्वाधिक २२ रन बनाए । २५ बल खेलेर समान १ चौका र छक्का प्रहार गरेका उनी भूर्तेलको बलमा हिट विकेट भएका थिए ।

भूर्तेलले होल्डरलाई ५ रनमा आउट गरेपछि नेपाल जितको नजिक पुगेको थियो । तर तल्लो क्रममा कप्तान अकेल हुसैनले आक्रामक खेल्दै वेस्टइन्डिजलाई जितको सम्भावना देखाएका थिए । उनले ९ बल खेली १ चौका र २ छक्का प्रहार गर्दै १८ रन बनाएपछि करण केसीको बलमा आउट भए ।

फाबिएन एलेन आउट हुने अन्तिम खेलाडी थिए । ऐरीको बलिङमा बाउन्ड्री लाइनमा कुशल भूर्तेलले सानदार क्याच लिएर एलेनलाई आउट गरेका थिए । उनले १४ बल खेली ३ चौका प्रहार गर्दै १९ रन बनाए । भूर्तेल बलिङमा पनि छाए । उनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र, करण, नन्दन, ललित राजवंशी, रोहित पौडेलले १–१ विकेट लिए । तर कुनै विकेट नलिएका सोमपाल कामीले ४ ओभरमा ४३ रन खर्चन पुगे ।

यसअघि ओपनरद्वय कुशल भूर्तेललाई ६ र आसिफ शेखलाई ३ रनमा गुमाए पनि टेस्ट मान्यता प्राप्त राष्ट्रसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले राम्रो स्कोर बनाएको थियो । रोहितले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । मल्लले २१ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० रन बनाए ।

गुलशन झाले पनि २ छक्का प्रहार गर्दै १६ बलमा २२ रन बनाए । दीपेन्द्रले १९ बलमा १७ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमै आउट भए । करण पहिलो बलमै आउट भए । सोमपाल ५ बलमा ६ र नन्दन २ बल खेली ७ रनमा अविजित रहे ।

वेस्टइन्डिजबाट होल्डरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २० रनमात्र खर्चेका थिए । बिदाइसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ओपनिङ बल लिएर आएका कप्तान एवं देव्रेहाते स्पिनर अकेल हुसैनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ