मणिपाल अस्पतालले भन्योः ‘सरकारले तोकेबमोजिम नै तलब दिइरहेकामा अब २४ देखि साढे २९ हजार दिन्छौँ’

विज्ञप्ति

मणिपाल अस्पतालले भन्योः ‘सरकारले तोकेबमोजिम नै तलब दिइरहेकामा अब २४ देखि साढे २९ हजार दिन्छौँ’

नर्सिङ कर्मचारीहरुको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित

Manipal-Hospital

पोखरा । अस्पतालमा काम ठप्प पारी आन्दोलनमा उत्रिएका नर्सहरूको मागका सम्बन्धमा मणिपाल शिक्षण अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर नर्सिङ कर्मचारीहरुलाई मासिक तलब २४ हजार २ सय ८७ रुपैयाँदेखि २९ हजार ५ सय ८७ रुपैयाँसम्म निर्धारण गरिएको पनि जनाएको छ । प्रशासन पक्षले नर्सहरूका मागका ९९ प्रतिशत सम्बोधन भइसकेको पनि दाबी गरेको छ। यद्यपि, केही नर्सिङ कर्मचारीहरुको आन्दोलनका कारण अस्पतालको आईसीयू सेवा प्रभावित भएको र बिरामीहरुलाई असुविधा भएको अस्पतालले जनाएको छ।

विज्ञप्तिअनुसार, बीएससी/बिएन स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २९ हजार ५ सय ८७ रुपैयाँ, पिएल स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ८ सय ८७ रुपैयाँ, सिएमए/एनएमका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ५ सय ८७ रुपैयाँ र फ्रेस नर्सिङ स्टाफका लागि २४ हजार २ सय ८७ रुपैयाँ निर्धारण गरिएको छ। यस सम्बन्धी जानकारी वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुलाई आधिकारिक रुपमा दिइएको अस्पतालले जनाएको छ।

अस्पतालले विज्ञप्तिमा ‘आईसीयू विभागमा कार्यरत केही नर्सिङ कर्मचारीहरुले गत असोज १० गते राति ८ बजे कार्यस्थल छोडी तलबभत्ता वृद्धि नभएसम्म काममा नजाने निर्णय गरेका थिए’ भनेको छ । यसका कारण आईसीयूमा भर्ना भएका बिरामीहरुको उपचारमा गम्भीर असर परेको र अधिकांश बिरामीहरुलाई डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालले बताएको छ ।

गम्भीर बिरामीहरुलाई भने अन्य अस्पतालहरुमा रिफर गरी वा सर्जरी वार्डमा आईसीयू सेवा सञ्चालन गरिएको छ । अस्पतालले आईसीयू जस्तो संवेदनशील विभागका बिरामीलाई अलपत्र पार्दा उपचारमा समस्या हुने भन्दै नर्सिङ सुपरभाइजरले काममा फर्काउन अनुरोध गरे पनि कर्मचारीहरु नफर्किएको जनाएको छ । हाल अस्पतालका ओपिडी सेवा र अन्य मेडिकल सेवाहरु पनि आवश्यक जनशक्ति अभावका कारण अस्थायी रुपमा रोकिएको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले फैलिएका भ्रामक जानकारीको पनि खण्डन गरेको छ । नेपाल सरकारले तोकेको २०७८ साउन महिनाको लागू न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ हो । अस्पतालले ती कर्मचारीहरुलाई उक्त दर अनुसार तलब प्रदान गर्दै आएको र हरेक नेपाली महिनाको ७ गते भित्र नियमित रुपमा भुक्तानी गर्दै आएको जानकारी अस्पतालले गराएको छ । बजारमा फैलिएको ‘तलबहरु १० हजार रुपैयाँ वा १२ हजार रुपैयाँ मात्र पाउँछन्’ भन्ने दाबी झुटो र आधारहीन भएको अस्पतालको भनाइ छ ।

बिदाको सम्बन्धमा अस्पतालले नर्सिङ कर्मचारीहरुलाई साप्ताहिक एक दिनको बिदा, घर बिदा, बिरामी बिदा र सरकारले तोकेका सम्पूर्ण सार्वजनिक बिदा प्रदान गर्दै आएको छ । अस्पतालले अतिरिक्त समय काम गर्ने नर्सिङ कर्मचारीहरुका लागि टाइम बैंकिङ प्रणालीको व्यवस्थित व्यवस्था गरेको छ, जसले उनीहरुको अतिरिक्त कार्यसमयको उचित मूल्यांकन र भुक्तानी सुनिश्चित गरेको अस्पतालले जनाएको छ । ‘बिदा नपाएको’ भन्ने दाबी तथ्यहीन रहेको अस्पतालले बताएको छ । रातिको सवारी सुविधाका लागि राति ड्युटी सकेर फर्किने नर्सिङ कर्मचारीहरुका लागि सवारी सुविधा पहिले नै व्यवस्था गरिएको छ । केही तालमेलका समस्या देखिए समाधानको प्रक्रिया अगाडि बढेको छ । होटेल तथा भोजन सुविधाका लागि करिब ५० नर्सिङ कर्मचारीहरुका लागि आवासीय होटेल सुविधा उपलब्ध छ, जसको मासिक भाडा ६ सय रुपैयाँ मात्रै रहेको छ । अस्पतालको आवासीय नर्सिङ कर्मचारीहरुका लागि अस्पतालको मेसमा एकछाकको ४५ रुपैयाँमा पौष्टिक भोजन उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

व्यवस्थापन पक्ष र आन्दोलनरत नर्सिङ कर्मचारीहरुबीच समस्या समाधानका लागि पटकपटक छलफल भएको अस्पतालले जनाएको छ । असोज ११ गते शनिबार अस्पताल निर्देशक तथा मानव संसाधन विभाग प्रमुखको रोहबरमा नर्सिङ स्टाफ र सक्रिय युनियनका प्रतिनिधिहरुसँग अस्पताल प्रशासनले छलफल गरेको थियो । उक्त छलफलमा द्विपक्षीय बैठक बस्ने सहमति भएको थियो।

दशैं बिदा समाप्त भएपछि असोज १५ गते आइतबार व्यवस्थापन पक्ष र नर्सिङ वार्ता टोलीका प्रतिनिधिहरुबीच पुनः वार्ता भएको थियो । त्यस क्रममा व्यवस्थापनले आगामी शुक्रबारसम्म कर्मचारीहरुको माग सम्बोधन गर्ने विषयमा अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको र नर्सिङ कर्मचारीहरुले पनि कार्यस्थलमा फर्किने सहमति व्यक्त भएको अस्पतालले बताएको छ ।

तर, त्यसपछि पनि केही दिनसम्म चुलिएको विवादका कारण असोज २४ गते बिहीबार, व्यवस्थापन पक्षले नर्सिङ वार्ता टोलीलाई बोलाइ मागका विषयमा लिखित प्रस्ताव प्रस्तुत गरेको थियो । सो अवसरमा वार्ता टोलीका प्रतिनिधिहरुले ‘हामी आफ्ना साथीहरुलाई बुझाउँछौं’ भन्ने आश्वासन दिएको अस्पतालले जनाएको छ । ‘तर, सो छलफलपछि केही कर्मचारीहरुले ‘व्यवस्थापनले नै सबैलाई बुझाउनुपर्छ’ भन्ने जानकारी दिँदा, अस्पताल प्रशासनले असोज २४ गते शुक्रबार करिब २०० जना नर्सिङ कर्मचारीहरुलाई अस्पताल हलमा बोलाइ सम्पूर्ण विवरण जानकारी गराएको थियो। यदि थप जिज्ञासा वा अस्पष्टता भएमा सोही दिन अपरान्ह ३ बजे सीईओको कार्यालयमा भेटघाट गरी पुनः छलफल गर्न सकिने व्यवस्था गरिएको थियो। तर, कर्मचारीहरु न त वार्तामा उपस्थित भए, न त कार्यस्थलमा फर्किए अस्पतालले बताएको छ। त्यसपछि सोही दिन दिउँसो करिब ४ बजे कर्मचारीहरुले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा नाराबाजी गर्दै, कर्मरत अवस्थामै जिम्मेवारी परित्याग गरी आन्दोलन र हड्तालमा उत्रिएको’ अस्पतालले उल्लेख गरेको छ।

मणिपाल शिक्षण अस्पतालले यस प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाउँदै ‘न्यून पारिश्रमिकमा काम गराइयो’ वा ‘श्रम शोषण गरियो’ भन्ने आरोप तथ्यहीन र भ्रामक रहेको तथा अस्पताल प्रशासनले गहिरो आपत्ति प्रकट गरेको छ।

‘अस्पताल प्रशासनले पुनः स्पष्ट गर्न चाहेको छ कि हरेक समस्या समाधानको माध्यम संवाद नै हो। यस्ता गतिविधिहरुले संस्था, सेवा उपभोक्ता र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नकारात्मक प्रभाव पार्ने सक्ने भएकाले सबै सरोकारवालालाई शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्या समाधान खोज्न हार्दिक अनुरोध छ।’ अस्पतालले भनेको छ ।

आन्दोलनरत नर्सहरुले भने प्रशासनले एकतर्फी रुपमा मात्रै विज्ञप्ति निकालेको र मंगलबार अपरान्ह ४ बजेमात्रै वार्तामा बसिने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ