नेपाल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा, लगातार दोस्रो पटक छनोट

क्रिकेट

नेपाल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा, लगातार दोस्रो पटक छनोट

सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमानले विश्वकपको टिकट काटे

NP CRICKET

काठमाडौँ — नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपको टिकट काटिसकेका थिए ।

ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको बुधबारको दुवै खेलमा आफू अनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपका लागि छनोट भएका हुन् ।

कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् । २०२३ मा काठमाडौंमा भएको एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान विश्वकपमा पुगेका थिए ।

नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी–२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकप २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै यसको छनोट खेल्दै आएको छ ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । नेपाल र ओमान आउँदो संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९ औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका हुन् ।

गत वर्षको ट्वान्टी–२० विश्वकपबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिजले तथा आईसीसी वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

क्षेत्रीय छनोटमा अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली तथा अफ्रिकाबाट जिम्बावे र नामिबिया ट्वान्टी–२० विश्वकपमा पुगेका थिए । ओमानमा भइरहेको प्रतियोगिताले ट्वान्टी–२० विश्वकपमा पुग्ने थप एक टोलीको निर्क्यौल गर्नेछ । त्यसमा यूएई, सामोआ, कतार र जापानको सम्भावना रहेको छ ।

नेपालले अब शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ । नेपालले बुधबारको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । अब सामोआलाई पराजित गरेमा नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ