सूचना प्रविधि कार्यक्रमका लागि आएको बजेट आफ्नै स्वार्थमा प्रयोग गरेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका -४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित तीन जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल, लेखापाल छविलाल गाहा, र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा गल्याङ नगरपालिका –४ स्थित शिशु कल्याण माविमा आईसीटी (सूचना प्रविधि) कार्यक्रमका लागि आएको बजेट ती तीनजनाले आपसी मिलोमतोमा हिनामिना गरेको प्रमाण भेटिएको छ ।
विद्यालयले ७ थान कम्प्युटर, १ प्रोजेक्टर, १ ल्यापटप र १ प्रिन्टर खरिद गरेको देखाए पनि दुई कम्प्युटर, एक प्रोजेक्टर र एक प्रिन्टर विद्यालयमा नल्याई नक्कली प्रतिवेदन तयार गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार दुई कम्प्युटरको १ लाख २३ हजार रुपैयाँ, प्रोजेक्टरको ५८ हजार रुपैयाँ, र प्रिन्टरसहित गरी करिब २ लाख १७ हजार रुपैयाँको हिनामिना भएको देखिएको छ ।
यसबाहेक विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरी फिर्ता नगरेको समेत अनुसन्धानले देखाएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार ती तीनजनाले मिलेर कुल ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमितता गरेका छन् । सो रकम बिगो कायम गरी कैद सजाय र बिगो असुलउपरको माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्थानीय तहमा विद्यालय सुधारका नाममा आउने बजेट दुरुपयोगको घटनाले फेरि एकपटक शिक्षा क्षेत्रमा बढ्दो भ्रष्टाचार र अनियमिततामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प