नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानसहितको रंगशाला निर्माण परियोजना समयमै सम्पन्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलेको निर्णायक भूमिकाको प्रशंसा गर्दै विशेष धन्यवाद दिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले ओली सरकारले तोकेको समयसीमा नभएको भए यो परियोजना अझै वर्षौंसम्म अलपत्र पर्ने सुनाए।
‘नेपाली क्रिकेटले वर्षौंदेखि देखेको सपना आज पूरा हुने क्रममा छ,’ अध्यक्ष चन्दले भने, ‘अन्तर्राष्ट्रिय जगतमा जस्तै नेपालमा पनि फ्लडलाइटमा डे-नाइट क्रिकेट होस् भन्ने सबैको आकांक्षा थियो। यो ऐतिहासिक दिनको सुरुवात भएको छ।’
उनले रंगशाला निर्माणमा पूर्ववर्ती सरकारको योगदानलाई स्मरण गर्दै भने, ‘म पूर्ववर्ती सरकार, विशेषगरी केपी ओली नेतृत्वको सरकारलाई धन्यवाद दिन चाहन्छु। जसले यो प्रोजेक्टलाई ठूलो महत्त्व दिएर १० महिनामा सम्पन्न गर्छु भनेर समयसीमा तोकिदियो।’ उनले थपे, ‘यदि उहाँले त्यो १० महिनाको समयसीमा नतोकेको भए, मलाई लाग्छ आज १५-१६ महिना भइसक्यो, यो परियोजना महिनौं र वर्षौंसम्म लाग्ने थियो।’
अध्यक्ष चन्दले खेलकुद मन्त्रालय र परिषद्को वर्तमान जनशक्ति र क्षमताले यति ठूलो परियोजना समयमा सम्पन्न गर्न नसक्ने देखेर क्यानले नै शहरी विकास मन्त्रालयमार्फत काम गराउन सुझाव दिएको खुलासा गरे।
सोहीअनुसार काम हुँदा परियोजना सफल भएको भन्दै उनले शहरी विकास मन्त्रालयलाई पनि धन्यवाद दिए। साथै, उनले वर्तमान सरकारले पनि परियोजनाको दोस्रो चरणका लागि देखाएको उत्साह र सहयोगप्रति आभार प्रकट गरे।
कीर्तिपुर रंगशालाको सफलताले इच्छाशक्ति भए नेपालमै ठूला परियोजना समयमा सम्पन्न हुन सक्छन् भन्ने प्रमाणित गरेको बताउँदै अध्यक्ष चन्दले अब रंगशाला निर्माणको जिम्मेवारी प्रदेश सरकारहरूले पनि लिनुपर्नेमा जोड दिए।
‘के संघीय सरकारले मात्रै यस्ता स्टेडियम बनाइदिने हो र ?’ उनले प्रश्न गरे, ‘देशमा सातवटा प्रादेशिक सरकार छन्, उहाँहरूको पनि दायित्व हो। हरेक प्रदेशमा न्यूनतम १० हजार क्षमताको एउटा फ्लडलाइटसहितको रंगशाला बनाउनुपर्छ।’
सम्बोधनका क्रममा अध्यक्ष चन्दले खेलकुद पूर्वाधार निर्माणमा हुने गरेको राजनीतिकरणप्रति आक्रोश व्यक्त गरे। उनले क्यानजस्ता विज्ञ निकायले आवश्यकता र प्राथमिकता तोके पनि नेताहरूले आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि परियोजनाहरू अन्यत्र लैजाने गरेको आरोप लगाए।
‘हामीले प्राथमिकतामा राखेर पूर्वाधार कहाँ आवश्यक छ भनेर सूची दिन्छौं,’ उनले भने, ‘तर नेताहरूले के गर्दिनुहुन्छ भने, आवश्यकता विराटनगरमा छ भने उहाँहरूले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङमा बजेट हाल्दिनुहुन्छ।’
उनले मन्त्रीहरूलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दै भने, ‘आफ्नो पहुँच बढाउनका लागि रंगशाला र खेल मैदान बनाउने होइन कि, अहिलेको वास्तविक आवश्यकता कहाँ छ, त्यहाँ लगानी गर्नुपर्छ। म मन्त्रीज्यूलाई यो विषयमा एकदम गम्भीर हुन अनुरोध गर्दछु।’
उनले राष्ट्रिय गौरवका अन्य खेलकुद आयोजनाहरू वर्षौंदेखि अलपत्र परेको भन्दै तिनलाई पनि गति दिन सरकारको ध्यानाकर्षण गराए।
सोमबारबाट सुरु हुने एनपीएलको दोस्रो संस्करण नेपालको क्रिकेट इतिहासमा एक कोशेढुंगा साबित हुने विश्वास उनले व्यक्त गरे।
त्रिवि मैदान एनपीएलका लागि तयार, आधुनिक रंगशाला क्यानलाई हस्तान्तरण
सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माण गरेको प्यारापिट र फ्लडलाइटसहित अत्याधुनिक क्रिकेट रंगशाला नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ।
आफ्नै लगानीमा बनेको रंगशालाको पहिलो चरणको काम पूरा भएपछि सरकारले क्यानलाई हस्तान्तरण गरेको हो। शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ एक कार्यक्रमबीच कीर्तिपुर मैदान हस्तान्तरण गरे।
शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले रंगशालामा प्यारापिट र फ्लडलाइटको निर्माण गरेको हो। घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट जडान गरिएको हो।
सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुँदैछ । यो सिजनको एनपीएल फ्लडलाइटमा खेलाइँदैछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’