स्याङ्जाको भीरकोट नगरपालिकामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएको घटना सार्वजनिक नहुनुमा स्याङ्जा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
गत शनिबार दिउँसो भीरकोट नगरपालिका वडा नं ६ चाप्टारीमा आफ्नै घर अगाडि घाँस काट्ने क्रममा रूखमै करेन्ट प्रवाह हुँदा ५६ वर्षीय मनि खनाल गम्भीर घाइते भएका थिए । तर यति गम्भीर दुर्घटना हुँदासमेत प्रहरीले घटनाबारे औपचारिक जानकारी बाहिर नल्याउनु रहस्यमय बनेको छ ।
रूखमा झुन्डिएको विद्युत् लाइनका कारण खनाललाई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएको भीरकोट -६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले बताए । दुर्घटनामा खनालको दाहिने खुट्टा आंशिक रूपमा जलेको छ भने शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको छ ।
प्रारम्भिक उपचार भीरकोट नगर अस्पतालमा गरिएको थियो तर अवस्था जटिल भएपछि पोखराको गण्डकी मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) को स्वामित्वमा रहेको आँधीखोला जलविद्युत् केन्द्रले ग्रामीण बस्ती वरपरका ट्रान्समिसन लाइन नजिकका रूखहरू समयमै काटछाँट नगर्दा जोखिम बढ्दै गएको स्थानीयले बताउँछन् । “जनशक्ति छैन, स्थानीयले सहयोग गरेनन्” भन्दै बिपिसी पन्छिँदै आएको स्थानीयहरूको आरोप छ ।
दुर्घटना साथै अकल्पनीय घटना घटे क्षतिपूर्तिबारेको प्रश्नमा आँधीखोला जलविद्युत् केन्द्रका प्रतिनिधि डोलप्रसाद खरेलले घटनाको जानकारी भएको स्वीकार गरे पनि उपचार खर्च वा क्षतिपूर्ति दिने कुनै कानुनी व्यवस्था नभएको प्रतिक्रिया दिनुले पीडित झन् आक्रोशित बनेका छन् ।
अझ चिन्ताजनक कुरा, यति गम्भीर घटनासमेत प्रहरीले अहिलेसम्म सार्वजनिक नगर्नु हो । स्थानीयहरू भन्छन्, “घटना लुकाएर कसलाई जोगाउन खोजिँदै छ ?” प्रहरीको मौनताले विद्युत् सेवा प्रदायकको लापरबाहीमाथि छानबिन हुने कि नहुने भन्ने शंका पैदा गरेको छ ।
विद्युत् नियमावली २०५० ले २३०/४०० भोल्टका लाइनका लागि न्यूनतम उचाइ र दूरी स्पष्ट तोकेको भए पनि भीरकोट क्षेत्रमा उफ्रेरै छुने सकिने नाङ्गा तारहरू झुन्डिएको स्थानीयको गुनासो छ । ११ केभीसम्मका लाइन वरपर आवश्यक खुला दूरीसमेत पालना नभएको बताइन्छ ।
स्थानीय सरकार, विद्युत् सेवा प्रदायक र प्रहरी—तीनै पक्षको बेवास्ताले नागरिकको ज्यान जोखिममा परेको भन्दै दोषीमाथि तत्काल छानबिन र कारबाहीको माग चर्किँदै गएको छ ।
सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस