कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप

अपराध

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप

दुवै जनाबीच पारिवारिक रूपमै चिनजान, कलाकार बुवाले नै भेट्न भनेका थिए

Sagar Lamsal Bale

काठमाडौं। बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ।

अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन्।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन्। लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन्।

कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ। सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो।

युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन्। लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो। युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन्। युवती कलाकार परिवारकै हुन् ।

उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन्। कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन्। तर लम्सालले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप

उनको भनाई यस्तो छः

एक वर्ष अगाडिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको थियो, र सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गरिरहेकी थिएँ। घरबाट टाढा, एक्लै, एउटा अपरिचित ठाउँमा हुँदा यी सबै कुराले मलाई निकै अँध्यारो चरणमा पुर्‍यायो। मेरो मानसिक अवस्थाका कारण म अस्पतालमा भर्ना हुनुपर्‍यो। सायद वर्षौँदेखि आफैँसँग लड्दा-लड्दै मेरो मन र दिमागले हार मानेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि, “अलि प्रयास गरे राम्रो दिन आउला” भन्ने आशा थियो। त्यही समयमा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू हाम्रो परिवारसँग वर्षौँदेखि चिनजान भएका हुनुहुन्थ्यो—कसैलाई म दाइ भन्थेँ, कसैलाई अंकल।

यस्तो गाह्रो समयमा, आफ्नै कोही नभएको ठाउँमा आफ्नै जस्तो मानिस भेट्दा छोरीलाई केही सहज होला कि भनेर मेरो बुबाले एकचोटि भेट्न भन्नुभयो। मसँग ऊर्जा थिएन, औषधिमा थिएँ, र निकै एक्लो महसुस गर्थेँ। तर पनि, सायद यो अपरिचित सहरमा आफ्नै कोही भेट्दा घाममा छायाँको जस्तो सान्त्वना पाइन्छ कि भनेर भेट्न गएँ।

एक जना अंकललाई भेट्न पाइएन, तर जसलाई म दाइ भन्थेँ, उहाँसँग भेट भयो। कुराकानी हुँदै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ।

अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ।

म बलात्कृत भएँ।

जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो।

माफ गर्नुहोस् बाबा, अहिले यसरी लेख्दैछु, तर तपाईंलाई भन्न सकिनँ। सायद तपाईं सँगै हुनु भएको भए तपाईंको काखमा रोएर लड्ने हिम्मत जुटाउँथेँ होला। तर म तपाईंभन्दा धेरै टाढा थिएँ। त्यतिखेर एक सास फेर्न पनि गाह्रो भइरहेको अवस्थामा, आफ्नो लागि कसरी लड्थेँ होला?

म भन्न सकिनँ, कसैलाई भन्न सकिनँ। आफैँदेखि घिन लाग्न थाल्यो। वर्षौँदेखि भएको संघर्षका कारण मेरो आत्मा, शरीर, दिमाग र मन—सबैले हार माने।

जीवन त्याग्न पनि सकिनँ, परिवारको बारेमा सोचेर। तर यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु।

र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।

आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।

मेरो सम्पूर्ण परिवारसँग माफी माग्न चाहन्छु। यसपछि तपाईंहरू मसँग निराश हुनुहुन्छ होला। तर सधैँ निराश बनाइरहने म एउटा असफल व्यक्ति त हुँ।

अन्त्यमा एउटा प्रश्न छ— कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ