विराटनगर । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगको औपचारिक उद्घाटन गरिएको छ।
एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको यस उद्योगले स्वदेशमै उत्पादनमार्फत सलाइनको आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
उद्योगले यसअघि नै उत्पादन सुरु गरिसकेको भएपनि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले शुक्रबार औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधी उत्पादन हुनु राष्ट्रिय रूपमा महत्वपूर्ण उपलब्धी भएको बताए । उनले भने, ‘नेपालजस्तो विकासोन्मुख देशमा औषधी उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास निकै सकारात्मक हाे । गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिन सकियो भने यसले स्वास्थ्य क्षेत्रलाई ठूलो टेवा पुर्याउँछ ।’
उद्योगका निर्देशक दिनेश ठाकुर र रञ्जित भगतका अनुसार करिब पाँच वर्षको अध्ययन, अनुसन्धान र योजनापछि उद्योग सञ्चालनमा ल्याइएको हो । जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिनरी प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरअनुसार सलाइन उत्पादन सुरु गरिएको उनीहरूको दाबी छ । उद्योगले केही समयअघि सीमित मात्रामा उत्पादन बजारमा पठाउन थालेको थियो भने अब औपचारिक उद्घाटनपछि उत्पादन विस्तार गर्ने योजना बनाएको छ।

हाल उद्योगले पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ उत्पादन गर्ने र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधी उत्पादन गर्ने लक्ष्य राखिएको निर्देशक ठाकुरले जानकारी दिए ।
उद्योगको प्रमुख उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउनु र औषधिमा विदेशी निर्भरता घटाउनु रहेकाे बताए । उनले भने, ‘हामीले उत्पादन सुरु गरिसकेका छौं, तर सलाइन उत्पादनको लागत उच्च छ। बजार मूल्य समायोजन हुन सकेको छैन । हाल घाटा सहेरै उत्पादन गरिरहेका छौं । यदि सरकारले नीतिगत सहुलियत र सुधार नगर्ने हो भने स्वदेशी उद्योग टिक्न गाह्रो हुन सक्छ ।’
उद्योग सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारीका अवसर पनि विस्तार भएकाे छ । हाल यस उद्योगले १५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । दक्ष जनशक्ति, आधुनिक प्रविधि र गुणस्तर नियन्त्रण प्रणालीमार्फत उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको निर्देशक ठाकुरले बताए ।
उद्योगले भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । पूर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालनमा आएको यस उद्योगले नेपाललाई सेलाइन उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेको छ।
हाल नेपालको औषधी बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहेको अवस्थामा एलेक्सा लाइफ साइन्सेजको सञ्चालनले औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना देखाएको सरोकारवालाहरूको भनाई छ।
स्वदेशमै उत्पादन हुने औषधीले आयात निर्भरता घटाउनुका साथै विदेशी मुद्रा बाहिरिने दर कम गरी अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा उद्योगका सञ्चालक, स्वास्थ्य क्षेत्रका विज्ञ, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका उत्पादन तथा आगामी योजनाबारे विस्तृत जानकारी दिइएको थियो ।
सम्बन्धित खबर
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
रवि विरुद्ध मुद्धा हालिरहने भनेर चर्चित युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?