इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा पुग्दा पाँच रेकर्ड

messi-enzo-argentina

काठमाडौं। कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शन र लाउटारो मार्टिनेजको इन्जुरी समयको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाएको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भर्खरै सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्ड जितको निकै नजिक पुगेको थियो। तर खेलको अन्तिम सात मिनेटमा दुई गोल गर्दै अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै ऐतिहासिक जित हात पार्‍यो।

६८ हजार २३९ दर्शकमाझ भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए। कप्तान ह्यारी केनको मुभबाट सुरु भएको आक्रमणमा मोर्गन रोजर्सले दिएको लो–क्रसलाई गोर्डनले नाहुएल मोलिनाभन्दा अगाडि पुग्दै गोलमा परिणत गरेका थिए।
गोल खाएपछि अर्जेन्टिनाले लगातार दबाब बढायो। जोर्डन पिकफोर्डले निको गोन्जालेजको हेडर उत्कृष्ट रूपमा बचाए भने एलेक्सिस म्याक एलिस्टरको प्रहार पोस्टमा लागेको थियो।

८५औँ मिनेटमा मेसीले खेल बराबरीमा ल्याउने अवसर सिर्जना गरे। उनले दिएको पासलाई एन्जो फर्नान्डेजले नियन्त्रण गर्दै शक्तिशाली प्रहारमार्फत गोल गरे र खेल १–१ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला अर्जेन्टिनाले अर्को प्रहार गर्‍यो।

इन्जुरी समयको दोस्रो मिनेटमा मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै अर्जेन्टिनाले युरोपेली च्याम्पियन स्पेनसँग आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनल खेल्ने भएको छ।

लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्ने प्रयासमा हुनेछ। यसअघि ब्राजिलले लगातार दुई विश्वकप जितेको थियो।

३९ वर्षीय मेसीले आफ्नो करिअरमा पहिलो पटक विश्वकपमा इङ्ल्यान्डविरुद्ध खेलेका हुन्। साथै उनी ब्राजिलका महान् कप्तान काफुपछि तीन विश्वकप फाइनल खेल्ने विश्वकै दोस्रो खेलाडी पनि बनेका छन्।

सन् १९६६ पछि पहिलो पटक विश्वकप फाइनल पुग्ने इङ्ल्यान्डको सपना भने अन्तिम क्षणमा चकनाचुर भयो।

प्रशिक्षक थोमस टुकेलको टोलीका प्रमुख खेलाडी जुड बेलिङहम र कप्तान ह्यारी केन निर्णायक क्षणमा प्रभाव जमाउन नसक्दा इङ्ल्यान्डले हार बेहोर्नुपर्‍यो।

अब इङ्ल्यान्डले शनिबार तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दा बनेका यी पाँच रेकर्ड

१. स्कालोनी लगातार दोस्रो विश्वकप फाइनलमा

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी लगातार दोस्रो विश्वकप फाइनलमा पुग्ने इतिहासका सातौँ प्रशिक्षक बनेका छन्।

उनीअघि भिटोरियो पोजो, हेल्मुट शोन, मारियो जागालो, कार्लोस बिलार्डो, फ्रान्ज बेकेनबाउर र डिडिएर डेसाँले यो उपलब्धि हासिल गरेका थिए।

२. अर्जेन्टिना पहिलो पटक लगातार दुई फाइनलमा

सन् २०२२ को विश्वकप जितेपछि अर्जेन्टिनाले २०२६ मा पनि फाइनलमा स्थान बनाएको छ। विश्वकप इतिहासमा अर्जेन्टिनाले पहिलो पटक लगातार दुई संस्करणको फाइनल खेल्ने भएको हो। यसका साथै, टोलीले खेलेका सबै सेमिफाइनल जित्दै अपराजित यात्रा कायम राखेको छ।

३. लगातार १४औँ जित

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिनाले सबै प्रतियोगितामा लगातार १४औँ जित दर्ता गरेको छ। सेप्टेम्बर २०२५ मा इक्वेडरसँग पराजित भएपछि अर्जेन्टिना हालसम्म अपराजित छ।

४. एउटै विश्वकपमा सर्वाधिक गोल

अर्जेन्टिनाले जारी विश्वकपमा हालसम्म १९ गोल गरेको छ, जुन एउटै विश्वकप संस्करणमा टोलीले गरेको सर्वाधिक गोल हो। यसका साथै, अर्जेन्टिनाले लगातार १४ विश्वकप खेलमा कम्तीमा दुई गोल गर्ने कीर्तिमान पनि बनाएको छ।

५. ह्यारी केन इंग्ल्यान्डका सर्वाधिक खेल खेल्ने आउटफिल्ड खेलाडी

अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रिएसँगै ह्यारी केनले इंग्ल्यान्डका लागि १२१औँ अन्तर्राष्ट्रिय खेल खेले। यससँगै उनले वेन रुनीलाई पछि पार्दै इंग्ल्यान्डका सर्वाधिक खेल खेल्ने आउटफिल्ड खेलाडी बने। समग्रमा गोलकिपर पिटर शिल्टन (१२५ खेल) मात्रै उनीभन्दा अगाडि छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ