निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

NIMS-PURJA-

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा झारेको छ।

पाकिस्तानको कराकोरम क्षेत्रस्थित ब्रोड पिकको करिब पाँच हजार मिटर उचाइमा एक सातादेखि अड्किएका निम्सदाइ पुर्जा, निमा शेर्पा र चिनियाँ पर्वतारोही झोङ वाङको शव बुधबार बेस क्याम्पमा ल्याइएको हो। पाकिस्तान अल्पाइन क्लबले निम्सदाइ, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव बेस क्याम्पमा ल्याइएको पुष्टि गरेको छ।

मिङ्मा जी नेतृत्वको उद्धार टोलीमा पाकिस्तानका सिर्बाज खान, आबिद बेग, शेरबाज तथा ‘इम्याजिन नेपाल ट्रेक्स’का दीपेन गुरुङ र पेमा छेवाङ शेर्पा सहभागी थिए। टोली बुधबार बिहान बेस क्याम्पबाट केही घण्टामै शव रहेको स्थानमा पुगेको थियो।

उद्धारकर्ताका अनुसार तीनवटै शवलाई पहाडको समथर स्थानमा झारिएको छ, जहाँ यसअघि नै किली पेम्बा शेर्पा ‘किलु’ र ग्यालु शेर्पाको शव राखिएको थियो।

बारम्बार हिमपहिरो जाने अत्यन्त जोखिमपूर्ण क्षेत्रमा गरिएको यो उद्धार अभियान हालसम्मकै सबैभन्दा कठिनमध्ये एक रहेको उद्धार टोलीले जनाएको छ।

प्रतिकूल मौसमका कारण हाल सबै शव हेलिकोप्टरमार्फत स्कर्दु लैजान मौसम अनुकूल हुने प्रतीक्षा भइरहेको छ। मौसममा सुधार आएपछि शवहरू हवाईमार्गबाट स्कर्दु पुर्‍याइने जनाइएको छ।

निम्सदाइको परिवारले उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउने तयारी गरिरहेको छ। साथै, उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न सरकारसँग माग गरिएको छ।

उद्धार तथा शव स्वदेश फर्काउने समन्वयका लागि सांसद तथा एलिट एक्स्पेडका सह–सञ्चालक मिङ्मा ग्याबु शेर्पा पाकिस्तानमा रहेका छन्।

यसअघि शुक्रबार ओमानी पर्वतारोही नधिरा अल हार्थी, नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ र अमेरिकी पर्वतारोही म्यालोरी गाइसको खुट्टाको अवशेष हेलिकोप्टरमार्फत स्कर्दु लगिएको थियो।

६ हजार मिटरभन्दा माथि जोखिमपूर्ण स्थानमा रहेको नवाङ थिन्धु शेर्पाको शव भने अझै निकाल्न सकिएको छैन। जुलाई ३० मा हिमपहिरोमा परेका पाकिस्तानी पर्वतारोही सोहेल साखी अझै बेपत्ता छन्।

गत बिहीबार बिहान क्याम्प–३ मुनि आएको भीषण हिमपहिरोमा ब्रड पिकको चुचुरो आरोहणका क्रममा १० जना पर्वतारोहीको मृत्यु भएको थियो। कराकोरम क्षेत्रमा भएको यो दुर्घटना हालसम्मकै सबैभन्दा ठूलो पर्वतारोहण विपत्तिमध्ये एक मानिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ