स्याङ्जाको पुतलीबजार नगरपालिका–३ कुमालगाउँस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा शव पोस्टमार्टमका क्रममा तोकिएको शुल्कभन्दा बढी रकम लिएको आरोप लागेको छ ।
अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सबिना सुनारको शव पोस्टमार्टम गर्दा तोकिएकोभन्दा २ हजार ७५० रुपैयाँ बढी रकम लिएको भन्दै उजुरी परेपछि प्रशासनले छानबिन थालेको हो ।
भदौ २९ गते भिरबाट लडेर मृत्यु भएकी सुनारको भोलिपल्ट प्रदेश अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमका क्रममा बरफको फ्रिजमा राखेकोसहित १ हजार रुपैयाँको रसिद काटेर शुल्क लिने व्यवस्था भए पनि मृतकका आफन्तबाट ३ हजार ७५० रुपैयाँ लिइएको आरोप छ ।
अस्पतालमा कार्यरत प्रहरी हवल्दार सम्सेर आलम खानले तोकिएको शुल्कभन्दा बढी रकम मागेको र कम रकमको रसिद दिएको भन्दै मृतकका जेठाजुका छोरा दीपक विकले प्रशासनमा उजुरी दिएका थिए । उजुरीपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।
उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हवल्दार खानलाई अस्पतालमा रहेको जिम्मेवारीबाट हटाएर कार्यालयमा तानेको छ । अनुसन्धानका क्रममा हवल्दारले रकम लिएको स्वीकार गरेका छन् भने उनले अस्पतालमा कार्यरत अन्य कर्मचारी र कार्यालय सहयोगीहरुको नाम समेत पोलेको हुँदा उनीहरुलाई पनि सोधपुछ गरिरहेको प्रजिअ घिमिरेले बताएका छन् ।
घटनामा दोषी ठहर भए कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए ।
घिमिरेले दुःखमा रहेका मृतकका आफन्तलाई सहानुभूति दिनुपर्ने अवस्थामा तोकिएको शुल्कभन्दा बढी रकम असुल गर्नु गलत भएको बताए ।
“शोकमा रहेका परिवारसँग तोकिएकोभन्दा बढी रकम लिनु गम्भीर विषय हो । अनुसन्धानबाट दोषी देखिए कानुनअनुसार कारबाही हुन्छ,” उनले भने ।
प्रदेश अस्पताल स्याङ्जाका प्रमुख डा. सुप्रिया पौड्यालले भने पोस्टमार्टमका लागि अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार १ हजार रुपैयाँ शुल्क लिने व्यवस्था रहेको बताइन् । तोकिएकोभन्दा बढी रकम लिइएको विषयमा भने अनुसन्धान भइरहेकाले तत्काल थप भन्न नमिल्ने उनको भनाइ छ ।
प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी ऐनमा पोस्टमार्टमका लागि शुल्क लिने विषय स्पष्ट रूपमा उल्लेख नभए पनि अस्पतालको सेवा शुल्क परिमार्जन समितिले २०७९ चैत २६ गते पोस्टमार्टमका लागि १ हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पोस्टमार्टमका क्रममा १ हजार रुपैयाँको रसिद काट्ने गरिएको अस्पतालले जनाएको छ । तर, सुनारको शव पोस्टमार्टम गर्दा त्यसको तीन गुणाभन्दा बढी रकम लिएको आरोप लागेपछि विषय छानबिनमा पुगेको हो ।
प्रशासनले उजुरी र घटनासँग सम्बन्धित विवरणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानबाट रकम बढी लिएको पुष्टि भए संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनको भनाइ छ ।
सम्बन्धित खबर
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी