प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

Dpo-Syangja-3d-gate

स्याङ्जा सदरमुकाममा रातको समयमा टाढैबाट जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भनेर स्याङ्जा युथ क्लबले कार्यालयको मुख्य गेटमा ‘थ्रीडी’ लाइट बोर्ड राखिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले कार्यालयको मूल गेट टाढाबाट र विशेषगरी रातको समयमा प्रस्ट नदेखिने समस्या रहेकाले युथ क्लबसँगको सहकार्यमा बोर्ड राखिएको बताए ।

“टाढाबाट आउने मानिसले हेर्दा नै जिल्ला प्रहरी कार्यालय हो भनेर सजिलै पहिचान गर्न सकून् भन्ने उद्देश्यले बोर्ड राखिएको हो,” राठौरले भने, “समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हामी समुदाय र नागरिकसँग सहकार्य गरेर विभिन्न काम गर्दै आएका छौँ । आगामी दिनमा पनि स्याङ्जा युथ क्लबसँग जनचेतनामूलक लगायतका कार्यक्रम सहकार्यमा गर्नेछौँ ।”

बोर्ड निर्माणमा सहयोग गरेकोमा उनले स्याङ्जा युथ क्लबका अध्यक्ष बाबु थापासहित क्लबका सम्पूर्ण सदस्यलाई जिल्ला प्रहरी कार्यालय र आफ्नो व्यक्तिगततर्फबाट धन्यवाद दिए ।

क्लबका अध्यक्ष बाबु थापाले रातको समयमा सदरमुकाममा हिँड्ने मानिसले प्रहरी कार्यालय कहाँ छ भन्ने सहजै थाहा पाउन सकून् भनेर बोर्ड राखिएको बताए ।

“बजार क्षेत्रमा सबै पसल बन्द भइसकेको र मानिसहरू घरभित्र पुगिसकेको रातको समयमा एक्लै हिँड्दा पनि प्रहरी कार्यालय छ भन्ने थाहा पाउँदा नागरिकलाई सुरक्षित महसुस हुन्छ,” उनले भने, “आगामी दिनमा पनि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न सरकारी तथा सामाजिक निकायसँग सहकार्य गर्दै काम गर्नेछौँ ।”

थापाका अनुसार स्याङ्जा युथ क्लबले पछिल्लो समय सामाजिक, मानवीय तथा पर्यटन प्रवर्द्धनका विभिन्न काम गर्दै आएको छ । क्लबले सदरमुकामको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा चिकित्सकसहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

त्यसपछि पोखरास्थित बालआश्रमका लागि सहयोग जुटाउन कार्यक्रम गरेको क्लबले असार १५ गते छैटौँ हिले जात्रा पनि आयोजना गरेको थियो । बालआश्रममा पुगेर सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको क्लबको भनाइ छ ।

भदौ १० गते आएको ठूलो बाढीबाट प्रभावित क्षेत्रमा क्लबका सदस्यहरू राहतसहित श्रमदानका लागि समेत पुगेका थिए । बाढी प्रभावित क्षेत्रमा पाँच दिन श्रमदान गरेको र आउजाउसहित करिब छ दिन समय बिताएको थापाले बताए ।

क्लबले स्याङ्जाको पहिचानलाई उजागर गर्ने उद्देश्यले सदरमुकामको टावरमा ‘स्याङ्जा’ लेखिएको थ्रीडी लाइट बोर्डसमेत राखेको छ । त्यस्तै, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भालुपाडमा कलात्मक संरचना निर्माण गरिएको थापाले बताए ।

उनका अनुसार अब क्लबले ‘गाउँ फर्क अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी मंसिर ६ गते ‘नेपथ्य’को लाइभ कन्सर्ट आयोजना गर्ने तयारी रहेको उनले जानकारी दिए ।

“आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिनेछौँ,” थापाले भने, “मंसिर ६ गते हुने गाउँ फर्क अभियानअन्तर्गतको कार्यक्रम र लाइभ कन्सर्टमा सबैको साथ र सहभागिताको अपेक्षा गरेका छौँ ।”

स्याङ्जा युथ क्लबले सामाजिक सेवा, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन र सार्वजनिक निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर गतिविधि अघि बढाउँदै आएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ