पोखरा महानगरपालिका वडा नं. २८ ओख्लेमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ विद्यार्थी र एक स्थानीयले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा कालिका बोर्डिङका विद्यार्थी, बस चालक र अन्य यात्रुसमेत घाइते भएका छन् । माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेकाहरूको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज उपचारका लागि राखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै अस्पताल ल्याउने क्रममा पाँच जनाको निधन भएको जनाएको छ । जसमा १५ वर्षिया ममता तिवारी, १५ वर्षिया सुवेच्छा तिवारी, १४ वर्षीया रुमिका नेपाली र १३ वर्षिय असिम कँडेलका साथै ६५ वर्षिय बाबुराम तिवारी रहेका छन् ।
पोखरा–२८ का बाबुराम उपचारका लागि लिफ्ट मागेर बसमा चढेका थिए । प्रहरीले मृतकको पहिचान तथा दुर्घटनामा मृत्यु हुने सबैको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालयबाट थप उद्धारका लागि बिहान ७ : ४० बजे प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी प्रमुख नवीन कार्कीको कमान्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालमा उपचाररत बिरामीसम्बन्धी विवरणमा उल्लेख छ ।

जीएमसीमा उपचाररत विद्यार्थी सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत १६ वर्षका विद्यार्थी हुन् ।
दुर्घटनामा बस चालक तुलबहादुर गुरुङ घाइते भएका छन् । उद्धारका क्रममा प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् । उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करिब २१ जना विद्यार्थी सवार उक्त बस दुर्घटना भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा १५ जना ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब १४ किलोमिटर उत्तरमा पर्दछ।
गण्डकी मेडिकल कलेजमा पोखरा २८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र पोखरा २८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको उपचार भइरहेको छ।
कक्षा १० मा अध्ययनरत उनीहरुको टाउको, ढाड, कम्मर र खुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम र बोल्न सक्ने रहेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा पोखरा २८ माझठानाका १५ वर्षीया अस्मी कँडेल, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगरको उपचार भइरहेको छ।
त्यस्तै मादी गाउँपालिका १२ पहिरेका १४ वर्षीया स्नेहा खत्री र १५ वर्षीया स्मृती खत्री तथा पोखरा १५ बस्ने ५७ वर्षीय बस चालक तुलबहादुर गुरुङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरुमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका थिए।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
बेगनास तालमा डुबेर युवकको मृत्यु
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी