काठमाडौँ — सहकारी ठगी र संगठित अपराधको कसुरमा फरार रहेका जीबी राई ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ ।
सेतोपाटीले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘सेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् । राईको भनिएको विज्ञप्तिमा विगतमा ‘तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको’ तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरिएको उल्लेख छ ।
‘विभिन्न शीर्षक तयार पारेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो । परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो । म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ?’
पक्राउ नै समाधान हो भने आफैं उपस्थित हुने तर त्यसो गर्दा लाखौं बचतकर्ताको अर्बौं रकम फिर्ता नआउने उनले बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई मेरो आग्रह छ, मेरो खोजीमा संयुक्त रूपमा शक्ति प्रयोग गर्नुपर्दैन । म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।’
राईका जेठान ज्ञानबहादुर बमजनले सेतोपाटीलाई प्राप्त अडियो सुनेर त्यो आवाज उनकै भएको बताएका छन् । ‘हामीले फरेन्सिक ल्याबमा परीक्षण गरेर राईको अडियो पुष्टि गरेका छैनौं,’ सेतोपाटीले भनेको छ । जीबी राईको भनिएको अडियो सार्वजनिक भएपछि कान्तिपुरले पनि नेपाल प्रहरीका तीन उच्च अधिकारीसँग कुराकानी गरेको छ । उनीहरूले अडियोको सत्यता परीक्षण गर्ने तयारी गरिएको बताएका छन् । ‘सञ्चारमाध्यममा अडियो आएको थाहा पायौं । त्यो सत्य हो कि होइन भन्ने भेरिफाई गर्न खोजिरहेका छौं,’ एक अधिकारीले भने ।
बमजनले कान्तिपुरलाई पनि त्यो अडियो जीबीकै भएको बताएका छन् । तर सेतोपाटीबाट आफूलाई पठाइएपछि मात्र अडियोबारे थाहा पाएको उनको भनाइ छ । ‘मैले अडियो सुनेँ, आवाज उहाँकै हो,’ उनले भने, ‘तर मेरो उहाँसँग कुरा नभएको लामो समय भइसकेको छ।’
विज्ञप्तिबारे भने आफूलाई केही जानकारी नभएको र राईसँगको सम्पर्कसूत्रबारे पनि आफूलाई केही थाहा नभएको बमजनले बताए । आफू अमेरिकामा भएका बेला राईसँग अन्तिम पटक कुरा भएको पनि उनले जानकारी दिए । ‘मलाई पनि पोखराको एउटा संस्थामा प्रतिवादी बनाइएको थियो । फेस गर्न आएको थिएँ । त्यसबेला मैले फोनमा उहाँलाई म पनि फेस गर्न आएको हुँ, तपाईंले पनि गर्नुपर्छ भनेको थिएँ,’ उनले कान्तिपुरलाई भने, ‘उहाँले आफ्नो ज्यानमाथि चुनौती रहेको बताउनुभएको थियो ।’
राईविरुद्ध पाेखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलकाे सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । अहिलेको सरकारले बचतकर्ताहरूको बचत सुरक्षाका लागि गरिरहेको पहल स्वागतयोग्य र सकारात्मक रहेको राईले जनाएका छन् । बचत सुरक्षााका लागि सरकारसँग सहकार्य गर्न चाहेको उनको भनाइ छ । ‘त्यसको सुरुवातस्वरूप मैले साथीभाइ, आफन्त र शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको छु । आवश्यक परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
विभिन्न सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा गएको सम्पूर्ण रकम अध्यक्षको हैसियतले आफ्नै जिम्मेवारीभित्र पर्ने राईले बताएका छन् । ‘आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकको संलग्नता रहेको छैन । साथै, कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा असावधानीवश नाम वा कागजात दुरुपयोग भएको हुन सक्छ । त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ,’ विज्ञप्तिमा उनले भनेका छन् । तत्कालीन सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई त्यस विषयमा जोड्नु उचित नभएको आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।
रास्वपा सभापति लामिछानेलाई सूर्यदर्शनसहित पाँच सहकारी संस्थाको अनियमिततासम्बन्धी मुद्दामा प्रतिवादी बनाइएको छ। मुद्दा पुर्पक्षका लागि थुनामा रहेका उनी उच्च अदालतले बिगो बराबरको धरौटी वा बैंक जमानत लिएर छाड्न आदेश दिएपछि रिहा भएका थिए। अहिले पनि लामिछाने विभिन्न सहकारीसम्बन्धी मुद्दामा तारेख लिन अदालत धाउने गरेका छन् । लामिछाने रिहा भएपछि अर्का सञ्चालक जोशी पनि बैंक जमानत बुझाएर छुटेका थिए ।
को हुन् राई ?
ओखलढुंगाको सुनकोशी गाउँपालिकाका गीतेन्द्रबाबु (जीबी) राईको व्यावसायिक यात्राको सुरुवात नेटवर्किङ व्यवसायबाट भएको थियो । स्थानीय कम्युनिस्ट नेता दीपकहरि राईका छोरा उनी माध्यमिक तहसम्म गाउँमै पढेर काठमाडौं आएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनले सुरुमा युनिटी लाइफ इन्टरनेसनलको एजेन्टका रूपमा काम गरेका थिए । त्यसपछि हर्बो इन्टरनेसनलसँग जोडिएर नेटवर्किङ व्यवसायमा सक्रिय भएका थिए । पछि उनले नेचर हर्ब्स र नेस्ट नेचर हबजस्ता कम्पनीमार्फत टुथपेस्ट, स्याम्पु लगायतका सामग्री उत्पादन तथा बिक्री गर्दै मलेसिया, सिंगापुर र दुबईसम्म व्यावसायिक सम्बन्ध विस्तार गरे ।
सरकारले २०६८ सालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लगाएपछि उनको व्यवसाय प्रभावित भयो । त्यसपछि उनी सहकारी क्षेत्रमा सक्रिय भएका थिए । गोरखा विकास बैंकका तत्कालीन सञ्चालक डम्बरबहादुर बमजनको परिवारसँग सम्बन्ध जोडिएपछि राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा प्रवेश गरेका थिए । पछि उनले सानो पाइला, स्वर्णलक्ष्मी लगायतका सहकारीमा पनि आफ्नो प्रभाव विस्तार गरे । विभिन्न सहकारीमा आफन्त र निकट व्यक्तिहरूलाई पदाधिकारी बनाएर उनले व्यावसायिक सञ्जाल फैलाएको सहकारीसम्बन्धी संसदीय छानबिन प्रतिवेदनमा उल्लेख छ ।
राईले सञ्चार क्षेत्रमा पनि लगानी विस्तार गरे । सुरुमा एपीवान टेलिभिजन र नागरिक खबर डटकमसँग जोडिएका उनी पछि गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा संलग्न भए । टेलिभिजनमा हाल रास्वपाका सभापति रहेका रवि लामिछाने प्रबन्ध निर्देशक र पूर्वडीआईजी छविलाल जोशी सञ्चालक थिए । तत्तकालीन एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिका अनुसार राई सञ्चालक रहेका पाँच सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो । सहकारीको रकम अपचलन प्रकरण सार्वजनिक हुन थालेपछि राई नेपालबाट भारत हुँदै मलेसिया पुगेको प्रहरीको भनाइ छ ।
इकान्तिपुर डटकम ।
सम्बन्धित खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो