पोखरा र भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत यो काम भइरहेको हो। पोखरामा यो काम ८२ प्रतिशत सम्पन्न भएको छ भने भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
चार वर्षअघि सुरु भएको यो आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले भरतपुरको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। एसियाली विकास बैंकको करिब ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले यो आयोजना सञ्चालन गरेको छ। सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो।
पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेको छ। हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको छ। प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। पोखरा महानगरपालिका १४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने ४ सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ।
त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको छ। लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको छ र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ। अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ।
सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न सकिएको छैन। पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुने भन्दै आनन्द सुवेदीले बताएका छन्। आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ। विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ। भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरामा ६ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ।
यसैगरी, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेको छ। हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको आनन्द सुवेदीले बताएका छन्। भरतपुरका १ हजार २ सय घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्याउने लक्ष्य रहेको छ।
अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम अन्तिम चरणमा
बिपुल क्षेत्री लाइभ इन पोखराः आज साँझ बाराहीघाटमा गुञ्जँदै
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
यो पनि पढौँ
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित