पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ को अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित कर सप्ताह सोमबार विभिन्न कार्यक्रमसहित समापन गरिएको हो।
कर सप्ताह समापन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले राजस्व लक्ष्य प्राप्तिका लागि सम्बन्धित निकायले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताए। उनले कर दर्ता, कर दायित्व, दाखिला, दक्षता, करको दायरा विस्तार, कर दरमा सुधार तथा उचित दण्ड–जरिवानालगायतका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उनको भनाइ थियो। करबाट प्राप्त राजस्व मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्त्वपूर्ण आधार भएकाले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गर्नुपर्ने उनले बताए।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर कानुनको पालना गर्दै राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति आभार व्यक्त गरे। उनले कार्यालयबाट प्रदान गरिने सेवामा गुणात्मक सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष श्री गुरुङलगायत व्यवसायी संघसंस्थाका पदाधिकारीहरूले कर प्रशासन व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए। उनीहरूले राज्यले व्यवसायिक वातावरण सुधारका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राखे।
तीन करदाता सम्मानित
कर सप्ताह समापन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरिएको थियो।
सम्मानित हुने करदातामा टेम्पल ट्रि रिसोर्ट प्रा.लि., एक्सेस कन्स्ट्रक्सन प्रा.लि. र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

कर सप्ताहमा करदाता शिक्षा तथा अन्तरक्रिया
कर सप्ताहको पहिलो दिन मंसिर १ गते पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो। कार्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो। यस अवसरमा पहिलो व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिने श्री टिपटप रेष्टुरेन्टका सञ्चालक अन्जु लोपचन न्यौपानेलाई सम्मान गरिएको थियो।
कर सप्ताहको दोस्रो दिन मंसिर २ गते लेखनाथ उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यहरूबीच कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। सप्ताहका अन्य दिनमा पनि लेखनाथ उद्योग वाणिज्य संघ, स्याङ्जा उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीहरूबीच करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
मैत्रीपूर्ण फुटसल प्रतियोगिता
कर सप्ताहको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा आन्तरिक राजस्व कार्यालय पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, पोखरा उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल अडिटर्स एसोसिएसन (अडान), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) पोखरा तथा कर सहयोगी श्रमिक संगठन नेपाल, कास्कीका टोली सहभागी भएका थिए।
प्रतियोगितामा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको टोली प्रथम र आन्तरिक राजस्व कार्यालय पोखराको टोली द्वितीय भएको थियो।
कर छुट सुविधालाई प्राथमिकता
कर सप्ताहका कार्यक्रममार्फत कर छुट सुविधाबारे पनि विशेष प्रचारप्रसार गरिएको प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले बताए। आर्थिक ऐन, २०८३ ले करको दायरामा नआएका करदाता, दायरामा आएर पनि आय विवरण दाखिला नगरेका तथा मूल्य अभिवृद्धि कर विवरण र कर निर्धारण भई राजस्व दाखिला गर्न बाँकी रहेका करदातालाई विभिन्न छुट सुविधा प्रदान गरेको उनले जानकारी दिए।
कर छुट सुविधा प्राप्त गर्ने अन्तिम म्याद पुस मसान्तसम्म रहेकाले समयमै उक्त सुविधा उपयोग गर्न उनले करदातालाई आग्रह गरेका छन्।
कात्तिक मसान्तसम्म लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म राजस्व संकलन लक्ष्यको १०४ प्रतिशत हासिल गरेको जनाएको छ। कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।
कार्यालयले कात्तिक मसान्तसम्म आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ संकलन गरेको जनाएको छ।
कास्की र स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा दर्ता भएका करदाताको संख्या ९० हजार रहेको छ। मूल्य अभिवृद्धि करतर्फ १५ हजार १२० तथा अन्तःशुल्कतर्फ ५ हजार ५९६ करदाता दर्ता भएका छन्। त्यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २ लाख ५२ हजार २५२ पुगेको कार्यालयले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
प्रतिभा माविमा गायन र नृत्य प्रतियोगिता
फेदीखोला गण्डकीका ८५ गाउँपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
स्याङ्जामा आज पहिलोपटक गुञ्जिँदै छ नेपथ्यको कन्सर्ट
निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
माछापुच्छ्रे रिभानमा खुल्यो प्याराग्लाइडिङ स्कुल
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य
सुमन थापा सिञ्जाली मगरलाई युवा पत्रकारिता पुरस्कार