माछापुच्छ्रे रिभानमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्याराग्लाइडिङ स्कुल

माछापुच्छ्रे रिभानमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्याराग्लाइडिङ हब कास्की जिल्लाकै पहिलो प्रशिक्षण केन्द्र

machhapuchchhre paragliding (3)

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचेडाँडामा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक यो स्कुल स्थापना गरिएको हो। एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा बिहीबारदेखि यो स्कुल सञ्चालनमा ल्याएको हो।

प्याराग्लाइडिङका अन्तरराष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले एक करोड ५० लाखको लगानीमा स्कुल स्थापना गरेका हुन्। केन्द्रका लागि अझै पूर्वाधार निर्माणका काम बाँकी रहेकाले लगानी थपिने बताइएको छ।

स्कुलका सञ्चालक विजय गौतमका अनुसार समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडाबाट उडान भरी मर्दीखोला किनारको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय प्यारापाइलट विजय स्वयं अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक पनि हुन् ।

यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

एक सत्रमा छ जनालाई प्रशिक्षण दिइनेछ।यसबाट दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नुका साथै आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्ने सञ्चालक गौतमले बताए। अन्तराष्ट्रिय पर्यटकलाई प्रशिक्षणका लागि देशको नियम कानुन बाधक भएकाले यसलाई सहज बनाइदिन सञ्चालक गौतमले सरोकारवालासमक्ष अनुरोध पनि गरेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् भने लाइसेन्स लिएका ४०० पाइलटमध्ये २५० जना कार्यरत छन्।

पोखरामा प्रशिक्षण केन्द्र स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यसबाट स्वदेशी जनशक्ति उत्पादनसँगै विदेशी पर्यटकसमेत प्रशिक्षणका लागि आउने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभान प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्य बन्न सक्ने बताउँदै आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले ओझेलमा परेको रिभान क्षेत्रको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन प्रशिक्षण केन्द्रले मद्दत पुर्‍याउने बताए।

वडा नं ५ का वडाध्यक्ष नारायण पौडेलले पर्यटकको बसाइ लम्ब्याउन ओदाने हुँदै खुमैसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गर्नुपर्नेमा जोड दिए भने वडा नं ८ का वडाध्यक्ष राम गुरुङले साहसिक पर्यटनको विकासमा प्रदेश र सङ्घीय सरकारको अपेक्षित सहयोग नपुगेको गुनासो गरे।

स्थानीय समाजसेवी यामबहादुर गुरुङले स्कुल सञ्चालनसँगै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना भई गाउँ छाडेर बजार झरेका स्थानीय पुनः गाउँ फर्कने वातावरण बन्ने विश्वास व्यक्त गरे। पोखराबाट जीपमा करिब एक घण्टाको यात्रा गरी लाहाचोकको पातीखोला हुँदै डाँडा चढेपछि रिभानको मैँचेडाँडा पुग्न सकिन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ