पोखरा, ९ चैत । मुलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरुले बताएका छन् । खासगरि युवालाई कुनै सामान्य जिम्मेवारी दिएर एक ठाऊँमा तह लगाउने र नेतृत्वमा आउन नदिने प्रचलन ब्याप्त रहेको उनीहरुले बताए ।
पोखरामा शनिबार यूथ थिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेपाली राजनीतिमा युवाको भुमीका र अवसर’को क्रममा बोल्दै युवा नेताहरुले यस्तो बताएका हुन् । अन्तरक्रियामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन सँयोजक अब्दुस मियाँ, नयाँ शक्ति पार्टीकी नेतृ मानुषी यमी भट्टराई र नेकपा सम्बद्ध विद्यार्थी नेतृ सरिता पुरी प्यानलिस्ट थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका युवा संगठन सँयोजक अब्दुस मियाँले युवाहरुलाई अगाडि बढ्नका लागि राज्यको नीति नै बाधक भएको बताए । उनले राज्यले कुनै कार्यकारी पदका लागि उमेरको हदबन्दी तोक्नु नै युवापुस्ताको लागि बाधक भएको बताए ।
‘नेपाली सिनेमामा युवापुस्ताको प्रवेश पायो । र, अहिले यो क्षेत्रमा हरेक युवाको क्रेज देखिन थालेको छ । त्यस्तै खेलकुदमा पारस खड्का र सन्दीप लामिछानेहरु आए र त्यस क्षेत्रको उचाई बढ्यो । व्यवसायमा युवापुस्ता आएपछि उनीहरुले तरक्की गरिरहेका छन् । तर राजनीतिमा अझै पनि युवापुस्तालाई पछार्ने काम हुन्छ । त्यसैले यस क्षेत्रमा युवापुस्ताको आकर्षण कम छ । हामीले यही कुरालाई सुधार्न आवश्यक छ ।’ मियाँले भने ।
त्यस्तै नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईले युवा उमेर समूहका महिलालाई राजनीतिमा अझै बढि समस्या रहेको अनुभव सुनाईन् । आफ्नै अनुभव साट्दै उनले यो कुराको भुक्तभोगीको रुपमा आफैलाई उदाहरणको रुपमा पेश गरिन् । युवापुस्ताले मुलधारको राजनीतिमा आउनका लागि अझै सँघर्ष गर्नुपर्ने उनले बताईन् ।
त्यस्तै अर्का प्यानलिस्ट नेकपा विद्यार्थी नेतृ सरिता पुरीले पनि त्यस्तै अनुभव साटिन् । उनले आफ्नो पार्टी लोकतान्त्रिक भएपनि कतिपय सवालमा असन्तुष्टि पोख्दा स्पष्टिकरण सम्म दिनुपरेको बताईन् । यद्यपी उनले यसका लागि युवाले आवाज उठाउन आवश्यक रहेको सुनाईन् ।
‘अहिले हाम्रो मातृ पार्टी सरकारमै छ । तैपनि हामी आफ्नो असन्तुष्टि पोख्न हच्किँदैनौँ । यसैगरि सबैले आफ्नो ठाऊँबाट आवाज उठाउन सक्यौँ भने हामी मुलधारको राजनीतिमा आउन सक्छौँ ।’ पुरीले भनिन् । नेतृत्व विकासको यो सामाजिक सवालमा युवाहरु राजनीतिक आस्थाभन्दा माथि उठेर एक ठाऊँमा उभिनुपर्ने उनको धारणा थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्यानलिस्टहरुलाई लक्षित गर्दै विभिन्न प्रश्न उठाएका थिए । प्यानलिस्टलाई यूथ थिंकर्स सोसाइटी, पोखराकी अध्यक्ष सजुमा घिमिरेले सहजीकरण गरेकी थिईन् । सोसाइटीकै सदस्य सरोज गौतमले कार्यक्रममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार