रञ्जन अधिकारी पोखरा, २० माघ / १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ । वैकल्पिक खेलाडी राम वाजीको एकमात्र गोल मद्धतमा उसले थ्रीस्टारलाई १–० गोलले हराउँदै लामो समयपछि उपाधि उचाल्न सफल बनेको हो ।
पाँच पटक उपाधि उचालेपछि २०६६ पछि फाइनल पुग्नै नसकेको पुलिसले आठौं वर्षमा उपाधि खडेरी टारेको हो । पोखरा रंगशालामा क्याराभान गोल्डकप सहित लगातार आठौं संस्करणसम्म पुलिस २०६३ बाहेक हरेक पटक फाईनल पुगेको थियो । त्यो वर्ष पुलिस आएन र पहिलो उपाधि थ्रीस्टारले उचालेको थियो । योसँगै पुलिस सर्वाधिक ६ पटक उपाधि उचाल्ने टीम समेत बनेको छ ।
सात दिन अघि मात्रै मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप जितेको थ्रीस्टारले एक साताभित्रै प्रतिष्ठित उपाधि उचाल्ने ठूलो मौका गुमाएको छ । आहा राराको इतिहासमा पहिलोपटक फाइनलमा पराजय समेत व्यहोरेको छ । चार पटक उपाधि जितेको थ्रीस्टारले फाइनलमा विपक्षीलाई नतिजा सुम्पेको थिएन । इटहरीमा सहभागिता नजनाएको पुलिसको लगातार दोस्रो उपाधि हो । हालै सम्पन्न १८ औं राष्ट्रिय खेलकुद राखेप च्याम्पियनशीपमा पुलिसले उपाधि जितेको थियो । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा पुलिसले दर्शकको मन मात्र जितेन, राष्ट्रिय टीमका खेलाडी र विदेशी खेलाडीले पूर्ण थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । अतिरिक्त समयमा धकेलिएको खेलमा थपिएको २० मिनेटमा पहिलो हाफको सातौं मिनेटमा वाजीले गोल गरेका हुन् । खेलको ८६ औं मिनेटमा अभिषेक रिजालको स्थानमा वाजी मैदान प्रवेश गरेका थिए । २४ मिनेट मैदान रहेका उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत बने ।
यसअघि निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि २० मिनेटको समय थपिएको थियो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टार दोश्रो हाफ पछि भने केहि रक्षात्मक बनेको थियो । यद्यपि उसले पनि थुप्रै गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । सुरुवाती १५ मिनेट आक्रामक बनेको पुलिस त्यसपछि रणनीतिक रुपमा काउण्टर अट्याकमा उत्रियो । पुलिसका निरकुमार राईको एक प्रहार क्रसबारमा लागेर फर्किएको थियो । भर्खरका युवाको जमात रहेको पुलिसलाई पहिलो पटक पोखरा रंगशालामा दर्शकको ठूलो साथ पनि मिल्यो ।
पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जितको श्रेय खेलाडीमा जाने प्रतिक्रिया दिए । उनले खेललाई खेलाडीले न्याय गरेकै कारण उपाधि जित्न सफल भएको बताए । अब पुलिसको यात्रा सुरु भएको उनको भनाई थियो । बीचमा केहि समय ग्याप बसेका थापाले केहि वर्ष अघि बिराट गोल्डकप र सतशीधाम गोल्डकपको उपाधि पुलिसलाई जिताएका थिए ।
पराजय व्यहोरेपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले राम्रै खेलेपनि स्कोर गर्न नसक्दा पराजित भएको बताए । उनले डेढ वर्षको समयपछि लयमा आउँदै गरेको थ्रीस्टारले लगातार प्रतियोगितामा सहभागिता जनाउँदा पनि खेलाडीमा थकान रहेको उल्लेख गरे ।
शनिबारको खेलमा पुलिसका रोशन खड्काले रातो कार्ड पाए । बैकल्पिक खेलाडीका रुपमा बेञ्चमा रहेका उनी गोलपछि खुशीयाली साट्न मैदान छिरेपछि रेफ्री सुदीशकुमार पाण्डेले रातो कार्ड दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान बने । उनले हिरो ड्यास स्कुटर प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठ बने । श्रेष्ठ प्रतियोगिताका एकमात्र ह्याट्रिककर्ता पनि हुन् । उनी उत्कृष्ट स्ट्राईकर समेत बने । उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।
यसअघि फाइनलमा पाँच भेटमा पुलिसले तीन पटक र थ्रीस्टारले दुई पटक नतिजा आफ्नो पक्षमा पारेको छ । जारी प्रतियोगितामा पुलिस प्रिक्वार्टरबाटै खेलेको हो भने थ्रीस्टार सिधै क्वार्टरफाइनल खेलेको हो । पुलिसले पहिलो खेलमा झापा ११ लाई १–०, क्वार्टरफाइनलमा साविक विजेता मनाङ मस्र्याङ्दीलाई ३–१ र सेमिफाइनलमा धरान एफसीलाई १–० गोलले पराजित ग¥यो । थ्रीस्टारले भने एपीएफलाई टाइब्रेकर र उत्तर बरिन्धरा, बंगलादेशलाई ५–० गोलले हराएको हो ।
विजेताः नेपाल पुलिस क्लब
सर्वोत्कृष्ट खेलाडीः रवि पासवान (पुलिस)अनुशासित टिमः सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धनगढी
सर्वाधिक गोलकर्ताः सुमन लामा (पुलिस), विश्वास श्रेष्ठ (थ्रीस्टार), समान ३ गोल
उत्कृष्ट डिफेन्डरः अजित भण्डारी (पुलिस)
उत्कृष्ट मिडफिल्डरः सुनिल बल (थ्रीस्टार)
उत्कृष्ट स्ट्राइकरः विश्वास श्रेष्ठ (थ्रीस्टार)
उत्कृष्ट गोलकिपरः शत्रुघन चौधरी (पुलिस)
उत्कृष्ट प्रशिक्षकः अनन्तराज थापा (पुलिस)
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो