डा. केसीको स्वास्थ्य ‘अत्यन्तै’ गम्भीर : सरकारसँग ९ चिकित्सकले गरे जीवनरक्षाको अपील

डा. केसीको स्वास्थ्य ‘अत्यन्तै’ गम्भीर : सरकारसँग ९ चिकित्सकले गरे जीवनरक्षाको अपील

govinda-kc

काठमाडौं : २७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था ‘अत्यन्तै’गम्भीर भएको भन्दै ९ जना चिकित्सकले उनको जीवनरक्षाको माग गरेका छन्।

विभिन्न विधाका ९ चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डा. गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीले ९ जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका हुन्।

‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं’, अपीलमा भनिएको छ, ‘हाल भइरहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्‍याउनका निमित्त अपनाउनुपर्ने संवेदनशीलतालाई सूक्ष्म रुपमा मनन गरेर डाक्टर केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भीर हुन हामी गर्दछौं।

९ चिकित्सकको तर्फबाट जारी भएको अपीलमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर केदारनरसिंह केसीले हस्ताक्षर गरेका छन्। यो अपील नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्वराजदूत रहेका डाक्टर महेश मास्के, चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, डा. सरोज धिताल, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डाक्टर अर्जुन कार्कीले जारी गरेका हुन्।

चिकित्सकहरुले सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागको कार्यान्वयनमा जोड दिएका छन्। भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। डा. केसीको यो १९ औं अनशन हो। शनिबार उनी अनशन बसेको २७ दिन पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ