तनहुँको फेदीखोलामा पुल बन्ने खबरले स्थानीयवासी खुशी

तनहुँको फेदीखोलामा पुल बन्ने खबरले स्थानीयवासी खुशी

pull bridge

Symbolic pic

तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण शुरु गरेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुने छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ,” तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनमा तुलबहादुर थापाले भने, “फेदीखोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयवासीलाई अब सहज हुने भयो ।” यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।

ऋषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्छन् । ऋषिङको पल्ट्याङ, राम्जाकोट, कोटदरबार लगायतका ठाउँका सर्वसाधारण पनि सरसमान किन्न यही खोला तरेर आउनुपर्ने बाध्यता छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार ९८० को लागतमा फेदीखोलामा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । उहाँका अनुसार २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहनेछ । छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४-१.४ को पेटी निर्माण हुनेछ । सो पुल २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु ७५ लाख विनियोजन भएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशनअनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । “पुल निर्माण गर्ने समय आगामी वर्षको पुस अन्तिम सातासम्म भए पनि प्राविधिक कठिनाई नआए असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गरिसक्छौ,” उनले भने ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोर अन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँ टारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरमा रु तीन करोड १४ लाख एक हजार २८२ को लागतमा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पच्चिस मिटर लामो पुल २०७८ भदौ २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भए पनि अब तीव्र गतिमा काम शुरु गरिने कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए । कुल ८.४ मिटर चौडाई रहने सो पुल निर्माणका लागि चालू आर्थिक वर्ष रु ५५ लाख बजेट विनियोजन भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds