रञ्जन अधिकारी पोखरा, १४ चैत / स्वर्गे भएका बाबु शिव अधिकारीको मृत्यु दर्ता प्रमाणपत्र लिन पोखरा १९ का अर्जुन अधिकारी वडा कार्यालय धाएको एक महिना नाघिसक्यो । फागुन ९ गतेदेखि आमा दुर्गा अधिकारीलाई लिएर पटक पटक कार्यालय पुगे तर उनले मृत्यु दर्ता प्रमाणपत्र हात पार्न सकेका छैनन् ।
वडा कार्यालयको ढिलासुस्ती र गैरजिम्मेवार व्यवहारले ११ पटक कार्यालय पुग्दा समेत आफ्नो काम नभएको गुनासो अधिकारीको छ । वडा नं. १९ का अध्यक्ष नेकपा एमालेका तर्फबाट निर्वाचित शोभामोहन पौडेल छन् भने वडा सचिव सावित्री तिमिल्सिना हुन् ।
नेपालको संविधानले स्थानीय तहको काम, कर्तव्य र अधिकार पहिले स्थानिय निकायको भन्दा व्यापक बनाईएको छ । अर्थात् स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघि सारिएको छ । वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह छिटो छरितो हुने हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा लिइएको छ । जनप्रतिनिधि आएपछि सेवाग्राहीले विना झन्झट सेवा पाउनुपर्ने हो । तर, वडा सचिवसामु जनप्रतिनिधि निकम्मा बन्दा र कार्यकारिणी अधिकार बोकेको सचिव सानो सेवा भन्दा समस्या बल्झाउनतर्फ उद्यत भएपछि सेवाग्राही यसरी मर्कामा परेका छन् ।
अधिकारीले फागुन ९ गते निवेदन दिएपछि फागुन १४ गते नाता प्रमाणित पत्र पाएको पाए । त्यसपछि ११ पटक आफू कार्यालय जाँदा समेत काम नभएको उनको गुनासो छ । वडा सचिव तिमिल्सिनाको भने आमाको हस्ताक्षर नभएकाले काम हुन नसकेको प्रतिक्रिया छ । सेवाग्राही अधिकारीले आठ पटक आफ्नी आमालाई लिएर कार्यालय पुगेको बताउँछन् ।
‘म ११ पटक कार्यालय पुगिसकेँ । वडा अध्यक्षलाई सोध्नुस्, कार्यालयमा रहेका कर्मचारी सूर्य नेपालीलाई सोध्नुस्, आमा नै ८ पटक लिएर पुगेको छु ।’ अधिकारीले भने – ‘ कहिले अफिसमा नै भेट्दिनँ । आफू नभएपछि आफ्नो काम गर्ने अधिकार अरुलाई दिनुपर्ने हैन ? अफिसमा भेटिए पनि कहिले इन्टरनेट चलेन, कहिले सिस्टम बिग्रियो, कहिले कम्प्युटर बिग्रियो भन्ने । हामी जत्तिका शिक्षित युवा यसरी ठगिन्छौं भने अरु नागरिकले के सेवा पाउला ?’
साउन १५ गतेदेखि वडामा हाजिर भएकी वडा सचिव तिमिल्सिना यसअघि महानगरपालिका कार्यालयमा राजश्व, नक्सा लगायतका शाखामा कार्यरत थिईन् । उनी अहिले बिदामै छिन् । महानगरपालिका कार्यालयमा चैत १२ देखि १९ गतेसम्मको एक हप्ता बिदा लिएकी छिन् । कार्यालयमा नभेटिने गरेको गुनासो सेवाग्राहीको रहेपनि साउनदेखि अहिलेसम्ममा बिदा लिएको यही मात्र बिदा रेकर्डमा देखिन्छ । नियमानुसार एक हप्ता भन्दा कम विदामा निमित्त राखेर अधिकार दिन अनिवार्यता छैन ।
सेवाग्राहीको गुनासोबारे प्रतिक्रिया लिन खोज्दा वडा सचिव तिमिल्सिनाले आफूले कुनै आर्थिक प्रलोभनमा परेर काम ढिलो गर्न नखोजेको बताईन् । ‘हेर्नुस्, मैले पैसा खान काम ढिलो गर्न खोजेको होईन । मैले बिदा पनि आफूले पाउने नियमानुसार नै लिन्छु । प्रक्रिया पूरा भएका काम रोकिदैन ।’ तिमिल्सिनाले फोनमा भनिन् ।
मिलाउन सक्ने सानो कागजपत्रलाई नै निहुँ बनाएर काम रोकिदिने, आफू जनप्रतिनिधि भएर पनि जनताको काम ढिलो हुँदा गुनासो आउने गरेको वडा अध्यक्ष पौडेलको भनाई छ । ‘जनताले काम भएन भनेर गुनासो गर्नुहुन्छ । पञ्जिकरणको काम मेरो अधिकारभित्र परेन । उहाँले सानो सानो कुरा पनि ठूलो बनाएर काम रोकिदिने, फर्काईदिने गर्नुहुन्छ ।’ पौडेलले भने ।
यसबारे पोखरा लेखनाथ महानगरपालिका कार्यालयका पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाका भेषराज आचार्यसँग बुझ्दा अनलाइनका काममा भएको ढिलाईमा कर्मचारीलाई दोष दिन नमिल्ने बताए । पञ्जिकरण सम्बन्धी कामका विभागीय प्रमुख आचार्यले अनलाईन सिस्टम र ईन्टरनेट नचल्ने कारण देखाएर पन्छिए । ‘वडामा केहि समस्या आएका छन् । मैले सक्ने हल गरेको छु । सोहि वडाबाट सूचक सौता रहने कुरा पनि केन्द्रबाट नै समस्या समाधान भएको पनि छ । म त फोकल पर्सन मात्रै हुँ । मलाई अरु थाहा छैन । उहाँले काम गर्ने नगर्ने, बिदा लिने नलिने मसँग सरोकारको विषय भएन ।’ उनले भने ।
वडा सचिव बिदा लिँदा आफ्नो सट्टामा अर्कोलाई अधिकार नदिने, कम्प्युटर, इन्टरनेट र सिस्टम बिग्रिएको कारण देखाउँदै सेवाग्राहीलाई दुःख दिने काम भएको गुनासो बढ्दो छ । स्थानीय शासन ऐनले घटना दर्ताका सबै अधिकार वडालाई समेत दिएको छ । जन्म, मृत्यु, विवाह, बसाँई सराईँ तथा सम्बन्धविच्छेद गर्न वडा कार्यालयमै दर्ता गर्न सकिनेछ । यसका लागि अनलाइन सेवा पनि छ । तर, पोखरा वडा नं. १९ झैं कर्मचारीलाई कम्प्युटर चलेन, सिस्टम बिग्रियो भनेर सेवाग्राहीको काम पन्छाउने, जनप्रतिनिधि वडा अध्यक्ष लाचार बन्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’