गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, रु एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लङ्घन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लङ्घन गर्नेलाई रु एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिए।
अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताए । बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ । नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लङ्घनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लङ्घन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लङ्घन गर्नेबाट हालसम्म १७६ जनालाई कारबाही गरेको छ । सोबाट रु १७ हजार ६०० राजश्व सङ्कलन गरिएको छ । यस्तै नियम उल्लङ्घन गर्ने २३९ सवारी साधनबाट रु एक लाख ६० हजार ५०० राजश्व सङ्कलन गरिएको सूचना अधिकारी हवारीले बताए ।
विनामास्क हिँड्नेलाई रु एक सय, विनाकाम हिँड्नेलाई रु दुई सय, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई रु दुई हजार, अन्य सवारीलाई रु पाँच हजार जरिवाना काट्ने नियमअनुसार रु एक लाख ७८ हजार राजश्व सङ्कलन गरिएको छ । बागलुङमा कोरोना सङ्क्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण