काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन् । ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।
बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, छ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन/तीन, जुम्ला र गोरखामा दुई/दुई, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन् । त्यस्तै बाढी र पहिरोमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएका हुन् छन् । बेपत्ताको खोजी जारी रहेको जनाइएको छ ।
बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ/आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार/चार र कञ्चनपुरमा तीन जना रहेका छन् ।
पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरुद्ध नै छन् । वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।
बाढीका कारण ३९७ घर डुबानमा परेका छन् । चार सय ९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ घरका चार हजार ९५५ जना मानिस विस्थापित भएका छन् । आठ सय दुई पशु चौपाय मरेका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’