पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता जनाए । पोखराको बिरौटामा अत्यधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्ने कार्यकारी निर्देशक घिसिङले जानकारी गराए । यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने समेत उनले बताए ।
मोदीखोलामा रहेका परियोजनाहरुबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइन अन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिटै सल्टाइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरुमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गरे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको भन्दै उनले स्वदेशको बिद्युत खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिएका हुन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो