रञ्जन अधिकारी पोखरा, १३ पुस / राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम अघि बढिरहेको छ ।
अहिले जग्गा सम्याउने काम तीब्र रुपमा अघि बढेको छ । सरकारी स्वामित्वको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले ४५ जना चिनियाँ प्राविधिक/कामदार खटाएको छ । दर्जनजति नेपाली कामदार कार्यरत छन् । कामदारको संख्या न्यून भएपनि नेपाली चुनावमा व्यस्त रहेका बखत समेत उनीहरुबाट काम रोकिएन ।
गत साउनदेखि कर्मचारीका लागि अस्थायी शिविर बनाउन सुरु गरेको कम्पनीले उक्त काम भ्याएर विमानस्थल निर्माण थालनी गरेको हो । चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल २०७८ साल असार २६ गतेभित्रै पूरा गर्ने गरी काम अघि बढाईएको छ ।

हाल चार डोजर, छ एक्साभेटर/लोडर, तीन रोलर, २२ वटा डम्प ट्रकले काम गरिरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । अर्थवर्कको काम भईरहेको छ ।
उनका अनुसार जमिन सम्याउने कूल काममध्ये २.६ प्रतिशत सकिएको छ । आगामी मे सम्म ८० प्रतिशत काम सक्ने लक्ष्य रहेको उनले सुनाए । वर्षाको समय अघि नै माटोको काम सकिसक्ने उनको भनाई छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म काम भईरहेको छ ।

कम्पनीले चीनबाट कैदी समेत ल्याउने तयारी गरिरहेको उनले खुलाए । ईञ्जिनियर सञ्जीव खड्काले जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढ्ने बताए । अबको केही दिनमा धानवमार्ग, ट्याक्सी वे र टर्मिनल भवन बन्ने ठाउँको छनक आउनेछ ।
यसैबीच, नवनिर्वाचित प्रतिनिधिसभा सांसद रविन्द्र अधिकारीले बुधबार विमानस्थल क्षेत्रको निरीक्षण गरेका छन् । विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक भएर लामो समय अगुवाई गरेका सांसद अधिकारीले अब निर्माण कार्यले तिब्रता पाउने बताए ।

चिनियाँ कम्पनी पनि छिटो काम सक्काउन उद्दत रहेको भन्दै उनले स्थीर सरकारको अभावमा आईपरेका समस्या अब भने समाधान हुने उल्लेख गरे । यद्यपी, जति सरकार बदलिएपनि कुनै प्रभाव नपरेको र सहज ढंगले काम यहाँसम्म आईपुगेकोमा उनले सन्तोष व्यक्त गरे । पछिल्लो समय अधिग्रण गरिएको ६० रोपनी जग्गाको मुआब्जा वितरण काम मात्र बाँकी रहेको अवस्था छ । नेपाल र चीन सरकारले पूरा गर्ने प्रक्रियामध्ये नेपालतर्फबाट केही सुस्तता छाएको चिनियाँ कम्पनीको गुनासो छ ।
सीएएमसीईले पोखरा विमानस्थल निर्माण गर्न २०७१ वैशाख २९ गते ठेक्का पाएको थियो । वि.सं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । तत्कालिन प्रधानमन्त्री ओलीले २०७२ चैत दोस्रो साता आफ्नो चीन भ्रमणकै क्रममा सम्झौता गरेका थिए ।
केही महिनाअघि मात्रै विमानस्थल वरिपरि रिङरोड निर्माणका लागि थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ रोपनी जमिन विमानस्थलका लागि थप अधिग्रहण गरिएको थियो । २५ सय मिटर धावनमार्ग हुने विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० मोडलका वा ती सरहका जहाजले उडान र अवतरण गर्न सक्नेछन् ।

अहिले जग्गा सम्याएपछि सात मिटर फिलिङ हुने र त्यसपछि विजयपुर माथि डाँडा समेत कटान गर्नुपर्ने जरुरत पर्ने देखिएको छ । विमानस्थलको निर्माण सुरु भएपनि अन्तराष्ट्रिय हवाई रुट पर्मिट, बिमान कम्पनी सँगको सहमति लगायतका बिषयतर्फ प्रवेश नै भईसकेको छैन ।

सम्बन्धित खबर
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
यो पनि पढौँ
बेगनास तालमा डुबेर युवकको मृत्यु
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी