जिएमसीमा फेरि सुत्केरीको मृत्यु, एक हप्तासम्म नभनेको आफन्तको आरोप, अस्पताल भन्छ– ‘लापरबाही पुष्टि गर्न चुनौति भो’ (भिडियो )

जिएमसीमा फेरि सुत्केरीको मृत्यु, एक हप्तासम्म नभनेको आफन्तको आरोप, अस्पताल भन्छ– ‘लापरबाही पुष्टि गर्न चुनौति भो’ (भिडियो )

pic gmc

रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / पोखराको गण्डकी मेडिकल कलेजमा फेरि सुत्केरीको ज्यान गएको छ । शल्यक्रिया गरिएकी सुत्केरीको ज्यान गएपछि गण्डकी मेडिकल कलेज शुक्रबार तनावग्रस्त बन्यो । अपरेशन गरेर छोरा जन्माएकी स्याङ्जाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि आफन्तजन अस्पताल प्रशासन विरुद्ध आन्दोलित भएको हो ।

https://www.facebook.com/gandaknews/videos/735678596624395/

गत वैशाख ३० गते पनि पोखरा लेखनाथ २६ निबासी सविता सुनारको ज्यान गएको थियो । सुनारको छोरा जन्मेको २४ घण्टा नबित्दै ज्यान जाँदा उस्तै तनाव भएको थियो । यस्तै, साढे तीन वर्ष अघि वैशाखमा कास्कीकोट गाबिस वडा नं ४ चिलिमडाँडाकी बिष्णु रानामगर सहित शिशुको मृत्यु भएको थियो ।

सुत्केरीका क्रममा अस्पतालकै लापरबाहीको कारण अर्यालको मृत्यु भएको भन्दै आफन्त आक्रोशित छन् । अस्पताल प्रशासनले भने लापरबाही नभएको भन्दै पुष्टि गर्न चुनौति दिएको छ । अस्पताल भनेको बिरामी बचाउने ठाउँ भएकाले कोहि पनि बिरामी मरोस् भनेर चिकित्सकले उपचार नगर्ने अस्पतालले प्रष्ट पारेको छ ।

स्याङ्जा अर्जुनचौपारी १ की अर्याललाई सुत्केरी हुने मिति कार्तिक १९ गते तोकेको जेठाजु राजन अर्यालले जानकारी दिए । उनका अनुसार अर्याल गत कार्तिक १० गते शुक्रबार बेलुकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका थिए । स्थान अभाव भएपछि गण्डकी मेडिकल जानु भन्ने सुझावका आधारमा उनीहरु गण्डकी मेडिकल कलेज आए । अवस्था राम्रो रहेको र आत्तिनु नपर्ने चिकित्सकको भनाई पछि उनीहरु नागढुंगा गएर बसे । त्यसपछि अफ्ठेरो महसुस भएपछि शुक्रबार बेलुकी नै अर्का दाइको सहयोगमा पुनः गण्डकी मेडिकल कलेज ल्याईएको थियो । शनिबार बिहान ११ बजे शल्यक्रिया गरी छोरा जन्मिएको थियो । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । शुक्रबार बिहान ५ बजे मात्रै मृत घोषणा गरियो । सकुशल जन्मेका छोरा भने अहिले नागढुंगामा आफन्तकहाँ छन् ।

तर जेठाजु अर्यालले भने पाँच दिन बित्दा समेत विरामीलाई नजिकबाट हेर्न नदिएको आरोप लगाएका छन् । ‘खाने सुप, जाउलो समेत मगाउथे । लगेका बेला कहिल्यै हेर्न दिईएन । सधैं बेहोस् थियो । त्यतिबेलै मृत्यु भएर अस्पतालले दिनहुँ पैसा खाने र अन्तिममा सकिएन भन्नका लागि बच्ने उपाय खोजेको हो ।’ उनको आरोप छ– ‘दिनहुँ २५ देखि ४० हजारको औषधि खर्च भएको छ । मनिपाल हस्पिटलबाट समेत औषधि ल्याईयो । कहिले ज्वरो, प्रेसर, निमोनिया भन्यो । यो सरासर झुटको खेती हो ।’ उनले विहीबार राति एकैचोटी नाजुक अवस्था छ भनेर जानकारी दिएको बताउँदै त्यसबेला प्रशासन, चिकित्सक सहितको जम्बो टोली आउँदा आफूहरु घटनाढाकछोप गरेको कुरामा विश्वस्त भएको बताए । पुलिसले समेत सिआईडी खटाएको भन्दै उनले सिभिल पुलिसलाई समेत आफूहरुले कुटपिट गर्न लागेको हाक्काहाक्की सुनाए ।

मृतक गीता अर्याल

उनले शल्यक्रिया गर्ने डाक्टर टीका गुरुङ र सन्दिप न्यौपानेसँग भेट गर्न नदिएको भन्दै चण्डिका पण्डित सहितको टीमले पछि आफ्नै टीम भनेको जानकारी दिए । उनीहरुले ‘जे गर्नुहुन्छ गर्नुस्’ भनेर गैरजिम्मेवार जवाफ दिएको उनको आरोप छ । अस्पताल प्रशासनमा उनीहरुले तालाबन्दी समेत गरेका छन् ।

केहिबेर अस्पताल नै बन्द गरेका थिए । प्रमुख जिल्ला अधिकारीको आग्रहमा खोलिएको अर्यालले जानकारी दिएका छन् । सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनको भनाई छ । उनिहरुले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । अवस्था बिग्रन नदिन वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बसन्त शर्माको नेतृत्वमा टोली परिचालित छ ।

पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् ।

यसैबीच, अस्पताल प्रशासनले भने लापरबाही ढंगले बिरामीको ज्यान नलिएको स्पष्ट पारेको छ । बचाउन प्रयास गर्दागर्दै ज्यान जोगाउन नसकिएको भन्दै निष्पक्ष छानविन गर्न सहयोग गर्ने बताएको छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक सन्तोष खनालले लापरबाही पुष्टि गर्न चुनौति दिए ।

‘अस्पतालले बिरामी बचाउँछ । कसले बिरामी मार्छ र ? बिरामीको मृत्यु हुनासाथ अस्पतालको लापरबाही हुन्छ ? यदि लापरबाही हो भने नियमानुसार क्षतिपूर्ति गर्न तयार छौं तर पुष्टि गर्न चुनौति दिन्छु ।’ – उनले भने – ‘सिडिओको नेतृत्वमा वरिष्ठ चिकित्सकसहितको छानविन समिति बनोस् । हामी बस्र्दैनौं ।समिति र पोष्टमार्टम रिपोर्टले जे निष्कर्श निकाल्छ तयार छौं ।’

विहीबार राति साढे १० बजे अस्पताल पुगेर बिरामीको अवस्था बुझेको उनले जनाए । भेन्टिलेटरमा राखिएको बिरामीलाई वार्डमा जस्तो भेट्न नदिने उनले बताए । अहिले आफन्तजनहरु अरुको कुरामा लागेर आरोपमा उत्रिएको उनको भनाई छ ।

सम्बन्धित समाचार

दुःखद खबर: गण्डकी मेडिकल कलेज पोखरामा सुत्केरीको मृत्यु, अस्पताल प्रशासन कार्यालय बन्द गरेर सम्पर्कविहीन

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds