काठमाडौं, २५ कात्तिक / नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।
शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले जानकारी दियो ।
९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।
२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष । स्वर्गीय कीर्तिनिधि बिष्टको परिचय हो यो । राजा महेन्द्रको शासनकालमा उनी पहिलो पटक प्रधानमन्त्री बने, त्यसपछि दुई पटक राजा वीरेन्द्रका सरकार प्रमुख । र, राजा ज्ञानेन्द्रले उनलाई तुलसी गिरीपछि दोस्रो वरियताका मन्त्रिपरिषद् उपाध्यक्ष बनाए ।

उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।
पञ्चायतकालमा प्रधानमन्त्री पदमा हुँदा विष्टले उत्तरी नाकाबाट भारतीय सेनालाई फिर्ता पठाएका थिए । चीनसँग जोडिएका नाकामा रहेका भारतीय पोष्टहरु हटाएर चर्चामा आएका थिए ।
उनको महाप्रस्थान भने शान्त र तडकभडकरहित थियो । न त भद्दा शवयात्रा, न सयौं मलामी, न पशुपति आर्यघाटमा राजकीय सम्मान नै । परिवार स्रोतका अनुसार उनको अन्तिम इच्छा नै महाप्रस्थानमा राजकीय सम्मान नदिनु भन्ने थियो ।
ज्ञानेश्वरस्थित निवासबाट उनको शव यात्रा शुरु हुँदा मलामीको ठूलो ताँती पछाडि लागेको देखिएन । जीवनकालमा खासै विवादमा नआएको व्यक्तित्व थियो उनको ।
आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्रपा अध्यक्ष कमल थापा मात्र पुगेका थिए ।
आर्यघाटको परम्परागत चितामा उनको पार्थिव शरीर आगोमा विलिन हुँदै गर्दा परिवारका सदस्य र शुभेच्छुकहरुको सानो समूह मात्र उपस्थिति थियो ।

Onlinekhabar
सम्बन्धित खबर
वनमा लागेको डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जलेर नष्ट
राजा फर्काउन राप्रपाले पनि गर्याे आन्दोलनमा जाने घोषणा, राजावादीहरूबीच नै तीव्र मतभेद
चैत्र महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम (सूचिसहित)
विशेष सुराकीको आधारमा २५ करोड बोकेको ट्रक समात्न सफल भयौँ : प्रहरी
एक ट्रक रुपैयाँसहित काठमाडौंबाट २ जना पक्राउ
अछाममा ४.३ म्याग्निच्युडको भूकम्प
यो पनि पढौँ
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ