७ दिनमा ७ नेता निशानामा, रामशरण महतको चुनावी प्रचारको गाडी एम्बुसमा पर्‍यो, ५ जना घाइते (फोटो फिचर)

७ दिनमा ७ नेता निशानामा, रामशरण महतको चुनावी प्रचारको गाडी एम्बुसमा पर्‍यो, ५ जना घाइते (फोटो फिचर)

Ramsharan

मंसिर १, २०७४ / प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमण शुरु भएको छ ।

माइन विस्फोटमा परेर नेपाली कांग्रेसका नेता रामशरण महतको निर्वाचन प्रचारप्रसारमा संलग्न ५ जना कार्यकर्ता घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेको समयमा निर्वाचन क्षेत्र नम्बर–१ स्थित ककनी गाउँपालिका–५ डाँडागाउँ सिंगारेचौरमा कांग्रेस कार्यकर्ता बोकेर चुनावी प्रचारमा निस्केको बा१६च ६६५ नम्बरको गाडी विस्फोटमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए ।

विष्फोटमा घाईते भएका पन्चकन्याका नेविसंघ विद्यार्थी नेता उपेन्द्र मिश्र, सुनखानीका भेषकुमार तामाङ, सविन लामा, लिलाबहादुर थापामगर नवलपरासी र सिन्धुलीका रामबहादुर राई छन् ।

उनीहरुको रानीपौपा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मिश्र, राई र तामाङ गम्भिर छन् । उनीहरुको त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल लैजाने तयारी भैरहेको छ ।

नेता महत ककनीगाँउपालिका ८ थानसिङको पुतली चौरमा रहेको चुनावी कार्यक्रममा जाँदै थिए । माइन विस्फोट गराउनेको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । उक्त विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।

यद्यपि, प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर देखिन्छ ।

उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको बताउँछन् । भन्छन्, ‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’

७ दिनमा ७ नेता निशानामा

२४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो ।

त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो । उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो ।

२८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।

भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए ।

सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।

३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् भने श्रेष्ठ गोरखा-२ का ।

तर्साएर चुनाव भाँड्ने नियत

शृंखलाबद्ध विष्फोटका क्रममा ठूलो क्षति भने हुन पाएको छैन । एक प्रहरी अधिकारी भन्छन्, ‘घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ ।’

प्रहरीले चुनावविरोधी विप्लव समूहको गतिविधिलाई निगरानीमा राखेको छ । बम आक्रमणको क्रम भने रोकिएको छैन ।

चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म एक सय ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

रुकुम, रोल्पा, दाङ, प्यूठान, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा विप्लव समूहको पकड रहेको प्रहरीको भनाइ छ । ती जिल्लाका साथै गोरखामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षा स्रोतका अनुसार प्रदेश ६ का विप्लव कार्यकर्तालाई प्रदेश ४ मा खटाइएको भेटिएको छ ।

प्रहरीको व्यापक परिचालनका कारण निर्वाचनविरोधी समूहले सुरक्षाकर्मीको तैनाथी रहेभन्दा केही टाढा विष्फोट गराइँदै आएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपाने बताउँछन् ।

उनका अनुसार रेडबुलको बट्टालगायत सामान्य विष्फोटक सामग्री प्रयोग भइरहेको पाइएको छ । बम बनाउन आवश्यक पदार्थ कहाँबाट भित्रिन्छ भन्ने खुलेको छैन ।

यसअघि स्थानीय निर्वाचनमा देशभरबाट विप्लव समूहका करिब तीन सय कार्यकर्ता पक्राउ परेका थिए । चुनाव सकिएपछि उनीहरुलाई छाडिएको थियो । अहिले पक्राउ पर्नेहरु तिनै व्यक्तिहरु छन् ।

Ekantipur/Onlinekhabar, Photo: Facebook

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ