काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्डले आशु थाम्न सकेनन् । छोरा गुमाउँदाको पीडा लुकाउन खोजेपनि सहनै नसकिने गरि पोखिएको थियो । यद्यपि प्रचण्डले सार्वजनिक रुपमा दु:ख भने पोखेका छैनन् । प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । सबै दलका अधिकांश नेताहरु आए । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शोक व्यक्त गरेका छन् ।
आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र उनी रोइरहे । (भिडियो तल छ) प्रचण्ड आफैले दागबत्ती दिए । प्रकाशका दुई श्रीमतीका दुई छोराहरु नाबालक छन् ।
क्यान्सरका कारण पुत्री वियोग सहनु परेको ३ वर्ष नबित्दै हृदयाघातबाट पुत्र वियोगको बज्रपात प्रचण्डले कसरी सहन गर्लान् ? उनको अनुहारमा सन्तान बियोगको झलक सहजै देख्न सकिन्थ्यो । अनलाइनखबरले लेखेको छ ।
छोरी रेणुसहित गाडीबाट ओर्लिँदा प्रचण्डका आँखा टिलपिल देखिन्थे । नेपालकै सबैभन्दा ठूलो र लामो सशस्त्र युद्धदेखि ठूला ठूला राजनीतिक आन्दोलनको कमाण्डर बनेका प्रचण्ड, यो क्षणमा युद्ध हारेको सिपाही जस्ता देखिन्थे ।
संसार जित्न हिँडेकाहरु पनि आफन्तको मृत्युसँग पराजित हुन्छन्, प्रचण्डको हालत यस्तै देखियो । तर, पनि प्रचण्ड सम्हालिँदै अस्पतलाभित्र प्रवेश गरे । उनको पछिपछि हिँडेकी छोरी रेणु भातृ वियोगको पीडा लुकाउन नसक्ने गरी रुँदै थिइन् । भित्रै रहेका एक प्रत्यक्षदर्शीका अनुसार प्रचण्ड र रेणु प्रकाशलाई राखिएको ठाउँसम्म पुग्दा त्यहाँ रुवाबासी चलेको थियो । कसैले कसैलाई सम्हाल्ने अवस्था थिएन ।
प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं पुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।
भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन । अनलाइनखबरले लेखेको छ ।
पार्टी कार्यालयमा आफ्नो एकमात्र छोराको शवमा आफैंले झण्डा ओढाइरहँदा भने प्रचण्ड सम्हालिन सकेनन् । उनी भक्कानो छाडेर रोएको दृश्य कारुणिक थियो । पार्टीले एक सदस्य गुमाएको थियो । तर, प्रचण्डले आफ्नो एकमात्र छोरा गुमाएका थिए ।
लगातार सन्तान बियोगको पीडाबाट सीता दाहाल भने थेगिन नसक्ने अवस्थामा पुगेको उनको उपस्थिति कतै नहुनुले पनि पुष्टि हुन्छ ।
प्रकाशको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दैगर्दा उनकी कान्छी दिदी सीमा सम्हालिन सकिनन् । उनी भाइको शवमा टाँसिएर केहीबेर रोइन् । अर्की दिदी रेणु पनि सम्हालिन सकिरहेकी थिइनन् । एउटै भाइको अन्तिम बिदाइ गर्दा दिदीहरुको चित्कार थामिनसक्नु थियो ।
मृत्यु कुनै पनि प्रिय हुँदैन । अझ अस्वाभाविक, अकल्पनीय मृत्युले सबैलाई पीडा दिन्छ । प्रचण्ड परिवारमाथि परेको अकल्पनीय शोकको घडीमा सबैले समवेदना दिएका छन् ।
तर, लगातार सन्तानवियोगको पीडाबाट मुक्त हुने शक्ति प्रचण्ड र सीतालाई मिलोस् भन्ने बाहेक अरु कुनै शब्द छैन ।
करिव ८ बजे हरियो कूर्ता लगाएकी एक महिला दाहिने हातले बालक डोहोर्याउँदै अस्पतालमा प्रवेश गरिन् । मान्छेको भीड छिचोल्न नपाउँदै उनी डाँको छोडेर रुँदै भित्र छिरिन् । उनी थिइन् प्रकाशकी पत्नी सिर्जना त्रिपाठी । उनले डोहोर्याएका बालक प्रकाशका जेठा छोरा थिए । अनुहार काटीकुटी प्रकाशजस्तै ।
अधिकांश फोटो पत्रकारले सिर्जनालाई चिन्न नपाउँदै उनी अस्पतालको लिफ्टभित्र प्रवेश गरिसकेकी थिइन् । केहीबेरमै अस्पतालमा कार्यरत एक नर्स बहिनीले खबर गरिन्- सिर्जना त्रिपाठी प्रकाशको अवस्था देख्नासाथ ढलिन् र उनलाई स्लाइन चढाएर राखिएको छ ।
लामो समयदेखि सिर्जना प्रकाशसँग थिइनन् । उनी छोरासहित पोखरामा बस्ने गर्थिन् । प्रचण्डले सिर्जना र नातिलाई धेरै माया गर्छन् । उनै सिर्जना डाँको छाडेर रुँदै बाहिरबाट अस्पतालभित्र प्रवेश गरेकी थिइन् ।
सिर्जनासँगै उनकी आमा (प्रकाशकी सासू) पनि थिइन् । उनी नातिलाई काखमा लिएर डाँको छाडेर रुँदै थिइन् । सिर्जनालाई भेटेर फर्किएका दिल निसानी मगरका अनुसार उनी अर्धबहोस अवस्थामा बर्बराउँदै प्रकाशकै नाम लिइरहेकी थिइन् ।
प्रचण्ड आउनुअघि प्रहरीले अस्पतालको भीड व्यवस्थापन गर्दै थियो । यसैबीच एकाएक महिला चिच्याएको आवाज आयो । उनी छाड मलाई भन्दै चिच्याएर दौडिँदै थिइन् । उनी प्रकाशकी पत्नी बिना मगर थिईन् उनलाई सम्हाल्न वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा लगायतका नेताहरु उनका पछाडि दौडिँदै थिए ।
कञ्चनपुरमा रहेकी बिना प्रकाशको निधनको खबर लगत्तै धनगढी विमानास्थलबाट श्री एयरलाइन्सको पहिलो उडानमा काठमाडौं आएकी हुन् । छोरासहित चुनावी अभियानमा गएकी बिनालाई सम्हाल्न ७ नम्बर प्रदेशका प्रहरी प्रमुख नै खटिएका थिए । बिना छोरासहित काठमाडौं आउँदा विक्षिप्त अवस्थामा थिइन् ।
प्रचण्ड एयरपोर्टबाट सिधै अस्पताल नआई लाजिम्पाटस्थित निवासतिर गएको खबर आयो । उनी पत्नी सीतालाई सम्हाल्न निवासतर्फ गएको अनुमान गरियो । छोराको निधन भइसकेकाले उनले सबैभन्दा पहिले निवास पुगेर आमालाई सम्हाल्न खोजेको बुझियो ।
किनकि छोराको निधनको पहिलो प्रत्यक्षदर्शी बनेकी आमाको अवस्था सम्हाल्न नसकिने खालको रहेको सचिवालय सदस्यहरुले बताएका थिए । दुई तीनदेखि रुघा खोकीबाट सामान्य विरामी रहेका प्रकाश केही दिनयता प्रचण्डको चुनावी अभियानमा समेत हिँडेका थिएनन् । उनी आमाकै रेखदेखमा थिए ।
सीताले आफ्नो एकमात्र छोरो प्रकाशलाई असाध्यै माया गर्थिन् । उनका कमजोरीहरुमा सीता सधैं रक्षाकवज बन्ने गर्थिन् । मुटुको टुक्रा चुँडिएको क्षणमा उनी विक्षिप्त हुनु स्वभाविकै थियो ।
सीताले राति प्रकाशलाई आफ्नै हातले जाउलो पकाएर खुवाएकी थिइन् । बिहान उनैले प्रकाशलाई बेहोस अवस्थामा भेटेकी थिइन् । स्रोतका अनुसार सीता सन्तान वियोगको पीडाबाट असामान्य अवस्थामा छिन् ।
अस्पताल परिसरमा भिड थामीनसक्नु भइसकेको थियो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकको नेतृत्वमा प्रहरी टोली परिचालित थियो । वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रहरीलाई सघाइरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरु अस्पताल परिसरमा थिए ।
झापामा रहेका कारण प्रचण्ड काठमाडौं आइपुग्न समय लाग्यो । प्रकाश पत्नी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार बनेका कारण उतै थिइन् । भरतपुरकी मेयर दिदी रेणु दाहाल भरतपुरमै थिइन् । आमा सीता दाहाल विक्षिप्त अवस्थामा घरमै रहेको जानकारी प्राप्त भएको थियो । भाञ्जीहरु रुँदै बाहिरिएपछि प्रकाशको निधनको औपचारिकरुपमै पुष्टि भयो ।
यसबीचमा एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, कांग्रेसका प्रकाशमान सिंह लगायतका नेताहरु अस्पताल पुगेर प्रकाशको अवस्थाबारे जानकारी लिइसकेका थिए । सबैको प्रतीक्षा प्रचण्ड कतिबेला आइपुग्छन् भन्नेमै थियो ।
बुहारी बिना मगर अस्पताल प्रवेश गरेको केहीबेरमै प्रचण्डको गाडी प्रवेश गर्यो । त्यहाँ जम्मा भएका हजारौं मान्छेका आँखा प्रचण्डलाई एक झलक हेर्न लालायित थिए ।
प्रचण्डले प्रकाशको उपचारमा संलग्न चिकित्सकहरुसँग सामान्य जानकारी लिए । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी पनि सँगै थिए । प्रकाशलाई अस्पताल ल्याइपुर्याउनुअघि नै उनको निधन भइसकेको जानकारी चिकित्सकहरुले प्रचण्डलाई दिए ।
प्रकाशलाई मध्यराति २ देखि ३ बजेको बीचमा आकस्मिक हृदयाघात भएको हुनसक्ने चिकित्सकहरुले सुनाए ।
कठिन क्षणमा पनि प्रचण्ड सम्हालिएको अनुभव सुनाए प्रकाशको निधनको खबर सुनाउने चिकित्सकले । प्रचण्ड पुगेर जानकारी लिएलगत्तै प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालको एम्बुलेन्समा राखेर पार्टी कार्यालय पेरिसडाँडातिर लगिएपछि पनि अस्पताल परिसरमा केहीबेर रुवाबासी चल्यो ।
सम्बन्धित खबर
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
ताप्लेजुङमा भूकम्प
आजको मौसम कस्तो रहन्छ?
आज ६० औँ राष्ट्रिय बाल दिवस
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग