बिहेको तीन रातमै अस्ताएको इन्स्पेक्टर जोडीको प्रेम, फेसबुकमा बधाई नसकिँदै श्रद्धाञ्जली

बिहेको तीन रातमै अस्ताएको इन्स्पेक्टर जोडीको प्रेम, फेसबुकमा बधाई नसकिँदै श्रद्धाञ्जली

Nabin

‘सबै फूलहरु भ्रम हुन फूल्छन्, अत्तर छर्छन् अनि ओइलिन्छन्।’

असोज २८ गते नवीन श्रेष्ठले आफ्नो फेसबुक स्टाटस पोष्ट गरे। प्रहरी इन्स्पेक्टर नवीनले फूलको बिम्वमा मृत्युको सत्यबारे लेख्न खोजेझैं लाग्छ त्यो स्टाटस।

तिनै नविन स्टाटस लेखेको करिब डेढ महिनापछि आफैं ओइलिए। आफूमात्र ओइलिएनन्, नविनसँगै उनकी नवविवाहिता पत्नीपनि ओइलिइन्। यतिबेला नविनले ‘छरेको अत्तर’ सम्झिएर उनका आफन्त र साथीसंगी भावविह्वल छन्।

‘नविन उमेरले मेरो दाई भएपनि हामी साथीजस्तै थियौं, एकदमै मिलनसार, हाँसिरहनुपर्ने, हँसाइरहनुपर्ने, अरुलाई सहयोग गर्ने स्वभाव थियो उसको’, चार वर्ष नविनसँग एउटै कलेज पढेका र वल्लोपल्लो घरमा बसेका दिनेश रावल सम्झिन्छन्,‘उसले मिठो बोल्थ्यो, कसैलाई बिझाउँदैनथ्यो।’

उनले त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढ्दा नविनसँगका सम्झनाहरु असंख्य रहेको सुनाए। श्रेष्ठ रावलभन्दा १ ब्याच सिनियर थिए त्रिचन्द्रमा। यतिबेला दिनेश नवीनसँगका याद संगालेर बसेका छन्।

शुक्रबार राती रुकुममा भएको सवारी दुर्घटनामा नवीनको मृत्यु भयो। उनीसँगै दुई दिनअघि बिवाह गरेकी उनकी श्रीमती अनिता प्रधानको समेत एउटै दुर्घटनामा परेर मृत्यु भयो। पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम खलंगा आइरहेको जीप शुक्रबार राती मुसीकोटमा दुर्घटना हुँदा श्रेष्ठका दम्पतिसहित सातजनाले ज्यान गुमाएका थिए।

श्रेष्ठ दम्पती प्रहरी इन्स्पेक्टर हुन् र उनीहरू नयाँ पोष्टिङमा जाने तयारीमा थिए।

बिवाहित पत्नीसँग एक रात

त्रिचन्द्रबाट बिएस्सी गर्दागर्दै श्रेष्ठले २०७० चैतमा इन्स्पेक्टरमा नाम निकाले। प्रहरी इन्स्पेक्टरको १५८औं ब्याचका प्रवेशी हुन् उनी। इन्स्पेक्टरमा नाम निकालेपछि उनले महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा तालिम गरे।

श्रेष्ठको ब्याचको तालिम लगभग सकिने बेला प्रहरी इन्स्पेक्टरको १५९औं ब्याच महाराजगञ्ज प्रहरी केन्द्रमा तालिमका लागि प्रवेश ग¥यो। त्यही हुलमा कतै थिइन् अनिता प्रधान। मिजासिली र सर्लक्क जिउ ज्यान मिलेकी प्रधानले नवीनलाई ‘मुहुनी’ लगाइन्। त्यही भेट नै उनीहरुको प्रेमको पहिलो बिन्दु बन्यो।

महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा भएको उनीहरुको भेट डोहोरिँदै बिवाह बन्धनसम्म पुग्यो।

‘मामा! तडकभडक गरेर बिवाह गर्न मन छैन, चुनावले गर्दा बिवाहको तयारी पनि राम्रो हुन पाएन, पार्टी पछि दिन्छु, यस्तै भयो नरिसाउनु है’, नाताले मामा पर्ने तर संगै हुर्किएका साथी लिलामणी गौतमलाई नवीनले अन्तिम फोनकलमा भनेका थिए।

‘भैहाल्छ, भाञ्जा दाम्पत्य जीवनको शुभकामना, पछि भेटौंला नि’, नवीनसँगको अन्तिम फोन सम्पर्क सम्झिँदै गौतमले नेपालखबरसँग भने, ‘तर त्यो दिन अब कहिल्यै नआउने भयो।’

नजिकिँदो चुनावका कारण समयमै कार्यक्षेत्र फर्कनुपर्ने भएकाले नवीन र अनिताको बिवाह हतारहतारमा भएको थियो। उनी मंसिर ६ गते ८–१० जनाको संख्यामा जन्ती लिएर अनिताको माइतीघर इटहरी पुगे। हतारहतारमै बिवाह गर्नुपर्ने भएकाले एकदमै नजिकका आफन्त र परिवारका सदस्यमात्र जन्तीमा सामेल थिए। बिहे सकेर ६ गते राती नै बेहुली भित्र्याउन उनीहरु रुकुम पूर्वतर्फ लागे।

७ गते बेलुका नवीन र अनिताको नव विवाहित जोडी जन्तीसहित बेहुलाको घर रुकुमकोट पुग्यो। त्यसरात नवीन र अनिताले सँगै बिताए। बिवाहपछिको पहिलो रात नै उनीहरुले सँगै बिताउने अन्तिम रात भइदियो।

८ गते बिहान दुवैजना घरनजिकै कमलदहको मन्दिर दर्शन गर्न गए। ब्रह्माको मन्दिर भनेर परिचित उक्त मन्दिरमा दुवैले सामुहिक पुजा गरे। दिउँसो नवीनले बेहुलीलाई आफन्त चिनाए। दिनभर जसो अनिताले नवीनका आफन्तसँग परिचय गरेर बिताइन्। खाजा खाएर उनीहरु साँझ करिब ५ बजे रुकुम पश्चिमको सदरमुकाम खलंगाका लागि घरबाट हिँडे। तर दुर्भाग्य, उनीहरु सवार जीप मुसीकोट नगरपालिकाको कालिमाटीमा दुर्घटना हुन पुग्यो।

दुर्घटनापछि नवीनको घटनास्थलमै मृत्यु भएको थियो भने अनिताको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा देहवसान भयो। जिल्ला अस्पताल पु¥याउँदा अनिताको धुकधुकीसम्म बाँकी भएपनि उपचार हुनै नपाइ उनको मृत्यु भएको थियो।

ट्राफिक प्रमुखका रुपमा हाजिर हुनै पाएनन्

अनिता रौतहटमा कार्यरत थिइन्। नवीन नवलपरासीको वानगंगा प्रहरी कार्यालयबाट सरुवा भएर कात्तिक अन्तिम साता सुर्खेतमा ट्राफिक प्रमुखका रुपमा खटाइएका थिए। उनले सरुवाको रमानापत्र बुझेका थिए, हाजिर हुनै बाँकी थियो। बिवाह सकेर कार्यालयमा हाजिर हुने सोचमा थिए उनी। तर नयाँ कार्यालयमा हाजिर हुनै नपाइ परलोक भए।

नवीन रुकुमको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका बाबु रुकुममै स्थायी शिक्षकका रुपमा कार्यरत छन्। दुईवटी आमा भएका नवीनकी सौतेनी आमा केहि वर्षअघि बितिन्। तीन सन्तानमध्ये उनी जेठो छोरा हुन्।

साथीभाइले नवीनलाई युवामैत्री र जोशीलो मित्रका रुपमा स्मरण गर्छन्। अब जोशीला नवीन परिचितहरुको सम्झनामा मात्र रहे।

बिहेको ३ दिनमै …

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ का नवीन श्रेष्ठ र इटहरी उपमहानरपालिका १७ बालग्रामकी अनिता प्रधान ०७० सालमा सँगै प्रहरी सेवामा प्रवेश गरे । त्यही बेला उनीहरूको चिनजान भयो । समय बित्दै जाँदा दुवैले मन र मुटुसमेत साटे । मंसिर ६ मा बिहे गरेका उनीहरू पेसासँगै जीवन पनि सँगै अघि बढाउँदै थिए । तर उनीहरूको खुसीको संसार ३ दिन पनि रहन पाएन ।

रुकुमकोटस्थित घरमा भित्रिएर कार्यक्षेत्र फर्कंदै गर्दा जिप दुर्घटनामा परेर उनीहरूको निधन भयो । बिहे गरेकै दिन इटहरीबाट रुकुम पूर्व हिँडेका दम्पती ७ गते बेलुकी मात्रै घर पुगेका थिए । ८ गते दिउँसोसम्म घर भित्र्याउने टीकाटालो गरेका उनीहरू साँझ कार्यक्षेत्र फर्कन जिप चढेका थिए । उनीहरूले ९ गते बेलुकी नेपालगन्जबाट काठमाडौं जाने प्लेनको टिकट लिएका थिए भने १० गते बिहान काठमाडौंबाट विराटनगर उडदै थिए । छोरी दुर्घटनामा परेको खबर सुनेपछि अनिताका बाबुआमा इटहरीबाट हेलिकप्टरमा जिल्ला अस्पताल सल्ले पुगेका थिए । छोरी अन्माएको तीन दिनमै छोरीज्वाइँकै निधन भएपछि अनिताका बाबुआमा भावविहवल छन् । दुर्घटनामा परेका शेरबहादुर, सुधन र जनक उनीहरू दुवै जनालाई घर भित्र्याउने कार्यक्रममा सहभागी भएर फर्कंदै थिए ।

नवीन सुर्खेत ट्राफिक प्रमुख भएको भर्खर ९ दिन भएको थियो । उनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सुर्खेत सरुवा भएर मंसिर १ मा हाजिर भएका थिए । उनले मंसिर २ मै पत्रकार सम्मेलन गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाबारे आफ्नो योजना सुनाएका थिए । अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् । नवीन र अनिताको आइतबार रुकुम पूर्वमा अन्त्येष्टि गरिनेछ । दुर्घटनापछि खलंगा र रुकुमकोट शोकमग्न छ । एकै परिवारका ३ जनाको मृत्यु भएको मुसिकोट नगरपालिका १ मठमा मृतकका आफन्त र छिमेकी पनि शोकाकुल छन् । शेरबहादुर, उनका छोरा सुधन, छोरी सुरेखा तथा यमुना मल्लको भने शनिबार नै अन्त्येष्टि गरिएको छ ।

आफन्त पर्खंदा आयो नराम्रो खबर

खलंगाका दिलीप थापालाई साथी नवीन श्रेष्ठको शुक्रबार बेलुकीपख फोन आयो । आफ्नो घर भित्र्याउने कार्यक्रममा सहभागी नभएको भन्दै रिसाएका नवीनले दिलीपलाई भने, ‘तँ मेरो घर भित्र्याउनेमा आउँछु भन्थिस्, आइनस् । अब म तेरोमा आउँछु, सँगै बस्नुपर्छ ।’ त्यसपछि दिलीपले नवीनकै अनुरोधमा रोटी र अन्य परिकार बनाएर राखे । साथी आउला र सँगै खाउँला भनेर सोचेका दिलीपको योजना पूरा भएन । अचानक नवीन दुर्घटनामा परेको खबरले दिलीप स्तब्ध भए । दिलीप नवीनका सानैदेखिका मिल्ने साथी हुन् । ‘त्यस्तो भन्ने साथीको लास बोक्नुपर्‍यो,’ उनले भने, ‘साथीका लागि बनाएको खानेकुरा यत्तिकै छ, दुर्घटनापछि त्यो भान्सामा पनि गएको छैन ।’ दिलीप इटहरीमा भएको नवीनको बिहेमा समेत सहभागी थिए ।

मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठले पनि शुक्रबार बेलुकी घरमा फोन गरेर रुकुमकोटबाट फर्कंदै गरेकाले खाना पकाउन भने । उनको घरमा उनीसहित उनका छोरा सुधन र केही पाहुनाका लागि खाना तयार भयो । परिवारका सदस्यहरू खाना पकाएर अभिभावक र पाहुनाको पर्खाइमा बसे । ‘पाहुना आउलान् र सँगै खाना खाउँला’ भनेर पर्खने परिवारले पनि नराम्रो खबर सुन्नुपर्‍यो ।

Source: मनोज खतिवडा/NepalKhabar & Ekantipur.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds