पुर्व ड्राइभरको आँखामा लालबाबु

पुर्व ड्राइभरको आँखामा लालबाबु

Driver

– विराट अनुपम / न्यूजलय । इटहरीमा पूर्वमै चलेको एउटा ड्राइभिङ सेन्टर छ, अन्डर ग्राउण्ड ड्राइभिङ सेन्टर । सुशील कोइरालाको सरकारको पालामा लालबाबु पण्डित सामान्य प्रशासनमन्त्री बनेपछि उक्त ड्राइभिङ सेन्टरका सञ्चालक बाबुराम प्रधान अत्यन्तै खुशी भए ।

उनले आफ्ना निकटहरुलार्ई लालबाबु पण्डितले कुनै न कुनै राम्रो काम नै गर्ने बताए, तर, उनका निकटस्थहरुले प्रधानको कुरालार्ई उति चासो दिएनन् । किनभने लालबाबु नेपाली राजनीतिमा उति चर्चित अनुहार थिएनन् ।

तर, जब लालबाबुले सामान्य प्रशासन मन्त्रालयमा डिभी पीआरवाला कर्मचारीलाई कि जागिर गर, कि देश छाड अभियान चलाए, प्रधानका कुराहरु सबैले पत्याउन थाले ।
लालबाबु सुशील कोइराला मन्त्रीमण्डलकै सबैभन्दा लोकप्रिय मन्त्री बने । उनै लालबाबु मोरङको सुकुम्बासी आयोगका हाकिम हुँँदा लालबाबुका ड्राइभर थिए, बाबुराम प्रधान । अरुले नदेखेका आँखाले लालबाबुलाई देखेका छन्, बाबुराम प्रधानले ।

प्रधान त्यो बेला २४ वर्षका मात्रै थिए । भर्खरै बिहे पनि गरेका थिए उनले । काम थियो, ड्राइभरीको । प्रधान मोरङको सुकुम्बासी आयोगको कार्यालयमा ड्राइभिङ गर्थे । एमालेको नौ महिने सरकार २०५२ सालमा आउनु अगाडि कांग्रेस नेतृत्वको आयोगमा यादव सापकोटालाई हाँकेका प्रधानले एमालेको सरकार आएपछि सँगै आएका लालबाबु पण्डितलाई हाँके । पण्डितको ड्राइभर बनेका प्रधानको त्यो ड्राइभरी जीवनकै अविष्मरणीय र टर्निङ प्वाइन्ट बन्यो, जसका सुत्रधार थिए, तिनै लालबाबु पण्डित ।

हाकिम हुँदा पनि हाकिमपन नभेटिने सादा नेता

एमाले सरकार हुन्जेल नौ महिना नै लालबाबुसँग हिँडे प्रधान । तर लालबाबु अरु हाकिमजस्ता थिएनन् । आफुलाई कार्यालयका महत्वपुर्ण बैठक र निर्णय हुने क्रममा पनि ड्राइभर भएकैले विभेद नगरेको प्रधानको अनुभव छ । भन्छन्, ‘हाकिम भएर पनि लालबाबुमा हाकिमपन कहिल्यै पाइएन, बरु साथी जस्तो व्यवहार गर्नुहुन्थ्यो ।’
लालबाबुको कार्यालयदेखि किचनसम्म सहज पहुँच राख्ने प्रधानले लालबाबुलाई साधा जीवन जिउन मन पराउने नेताका रुपमा देखे ।

अरु त अरु लोकप्रिय मन्त्री भएपछि पनि इटहरी आसपास आउँदा समय मिलेको बेलामा लालबाबुले बाबुरामलाई भेट्ने गर्थे ।

ड्राइभरको दुःख बुझेर आयोग अफिसमा सटर खोल्न अनुमती 

बाबुराम प्रधान ड्राइभिङबाट महिनाको दुई हजार २७५ रुपैया कमाउँथे । तलबले मात्रै नपुग्ने बुझेका पण्डितले कार्यालय परिसरमै दोकान खोल्न अनुमति दिए । विराटनगरको मुनालपथस्थित युवराज दाहालको दुइ तले घरमा रहेको आयोग अफिसमा सटर खोलेपछि बाबुरामलाई निकै सहज भयो । यस्तो काम अरु हाकिमले गर्न सम्भव थिएन । ‘तर लालबाबु त्यती सरल र अरुको समस्या बुझ्ने हुनुहुन्छ,’ उनले भने ।

प्रधानले यात्रा हुँदा ड्राइभरले पाउने तोकादेश भनिने भ्रमणभत्ता पनि सबै पाए । नौ महिने एमाले सरकार ढलेपछि लालबाबुले प्रधानलाई सिडियो कार्यालयमा ज्यालादारीमा ड्राइभिङको लागि कुरा गरिदिएका थिए । तर प्रधानले जागिर छाडेर व्यवशाय थाल्ने सोँच बनाइसकेका थिए ।

उनले यो कुरा लालबाबुलाई पनि भने । लालबाबुले सुमन प्याकुरेलहरुसँग भनेर तीन वर्षको लागि गाडि उपलब्ध गराइदिए । प्रधान सम्झन्छन्, ‘त्यहि गाडिको कमाइ नै मेरो व्यापारिक जीवनको पहिलो कमाइ हो ।’

‘लालपुर्जा नक्कली लालबाबुले होइन, काँग्रेसले बनायो’

सुकुम्बासी आयोग जस्तो शक्तिशाली निकायका हाकिम भएर पनि लप्पनछप्पन नगरेका लालबाबुको विषयमा बाबुराम भन्छन्, ‘त्यत्रो हाकिम भएर पनि जनपथमा डेराको कोठामा बस्नुहुन्थ्यो, त्यही आयोगका अरु हाकिमको ठाँट र कमाइ नै भिन्नै हुन्थ्यो ।’
त्यो बेलामा सुकुम्बासी आयोगको हाकिम हुनु निकै ठूलो उपलब्धी मानिन्थ्यो । ‘उहाँले चाहेमा थुप्रै आफन्तलाई सुकुम्बासी प्रमाणिकरण गरेर सार्वजनिक जग्गा दिन सक्नुहुन्थ्यो र मलाई नै पनि दिन सक्नुहुन्थ्यो’, प्रधान भन्छन्, ‘तर आफ्नो पदको दुरुपयोग गरेर कमाउने र रमाउने काम उहाँले कहिल्यै गर्नुभएन ।’

यो चुनावमा लालबाबु पण्डितले सुकुम्बासी आयोग प्रमुख हुँदा नक्कली लालपुर्जा बाँडेको हल्ला झुट भएको प्रधान बताउँछन् । नेपाली कांग्रेसका केहि कार्यकर्ताले चुनावी स्टन्ट बनाएर झुटको खेती गरेको बताएका प्रधानले लालबाबुले आफ्नो कार्यकालभरी किर्ते काम कहिल्यै नगरेको बताए । ‘एमालेको सरकारका पालामा दिइएका लालपुर्जा कांग्रेस सरकार आएर अवैध बनाएकोले मात्रै नक्कली भएको हो,’ नक्कली लालपुर्जा प्रकरणको रहस्य खुलाउँदै प्रधानले भने, ‘लालपुर्जा नक्कली लालबाबुले हैन कांग्रेस सरकारको निर्णयले भएको हो ।’

कम्युनिष्टप्रतिको धारणा फेर्ने नेता

लालबाबुको संगतले कम्युनिष्टप्रतिको आफ्नो धारणा नै फेरिएको बाबुराम बताउँछन् । ‘म एकखाले कांग्रेसको स्कुलिङमा हुर्किएको थिएँ र कम्युनिष्ट भनेपछि देख्नै सक्दिनँ थिएँ,’ प्रधान भन्छन्, ‘तर लालबाबुको संगतपछि मेरो त्यो धारणा परिवर्तन भयो, कम्युनिष्ट राम्रा पनि हुँदा रहेछन् भन्ने थाहा भयो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds