कास्कीमा ७० प्रतिशत मतदान, मुलुकभर ६७ प्रतिशत, शुक्रबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बसी मतगणना

कास्कीमा ७० प्रतिशत मतदान, मुलुकभर ६७ प्रतिशत, शुक्रबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बसी मतगणना

Kaski vote

पोखरा, २१ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ७० प्रतिशत मत खसेको छ ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भइसकेको र मध्यरातसम्म सबै केन्द्रका मतपेटिका जम्मा गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार भोलि सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने छ ।

मुलुकभर ६७ प्रतिशत मतदान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

उहाँले भन्नुभयो, “नेपालको संविधान कार्यान्वयन गर्र्ने क्रममा दोस्रो चरणमा आज ४५ जिल्लामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको उत्साहजनक, व्यापक सहभागिता र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी सहर्ष रूपमा गराउन चाहन्छु ।”

निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्दै आयोगले बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गतायुक्तलगायत मतदाताले उत्साहजनक रुपमा मतदान गरेकामा सबै मतदातालाई धन्यवाद दिएको छ ।

सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत

प्रमुख आयुक्त यादवका अनुसार बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ । पहिलो चरणमा मंससिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् । बिहीबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।

पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

मतादेशलाई सहज रूपमा स्वीकार्नुस्’्

नेपाली मतदाताले मतपत्रका माध्यमबाट व्यक्त गरेको मतादेशलाई सहज रूपमा स्वीकार्न आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारसँग आयोगले गर्दै भनेको छ, “निर्वाचन प्रचारप्रसारमा दलहरूबीच देखिएको सौहार्दता मतगणनापछि हुने हार र जीतको परिणामपछि पनि प्रकट गर्न सबै राजनीतिक दल तथा उम्मेदवार प्रतिबद्ध रहेको विश्वास आयोगले लिएको छ ।

मतदान सम्पन्न भएलगत्तै आज सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने डा यादवले जानकारी दिनुभयो ।

मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

दु्ई केन्द्रमा मतदान स्थगित

अर्घाखाँची, सन्धिखर्क नगरपालिका – ५ मथुरा निमावि नेटा मतदानस्थलका (क) र (ख) गरी दुई मतदान केन्द्रको मतदान आज स्थगन भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै यही मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आजैदेखि सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी आजै(बिहीबार) राति वा शुक्रबार बिहानसम्ममा मतगणना शुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ